काठमाडौँ : धुलिखेल अस्पतालमा रोकिएको स्वास्थ्य बीमा कार्यक्रम आजदेखि पुनः सञ्चालनमा आएको छ। स्वास्थ्य बीमा बोर्डको प्राविधिक प्रणालीमा आएको समस्या समाधान भएसँगै बीमा सम्बन्धी सेवाहरू पूर्ववत् रूपमा सञ्चालनमा ल्याइएको हो।
अस्पताल प्रशासनका अनुसार केही दिनदेखि बीमा बोर्डको अनलाइन प्रणाली (Server) मा प्राविधिक त्रुटि देखिएका कारण बिरामीहरूले बीमा अन्तर्गतको सेवा लिन कठिनाइ भोग्दै आएका थिए। प्राविधिक टोलीले उक्त समस्याको पूर्ण समाधान गरेपछि आजदेखि निर्वाध रूपमा बीमा सम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढाइएको अस्पतालले जनाएको छ।
सेवा पुनः सुरु भएसँगै स्वास्थ्य बीमामा आबद्ध नागरिकहरूले धुलिखेल अस्पतालबाट पाउने निमयनुसारको उपचार, परामर्श तथा औषधि सेवा पूर्ववत् रूपमा पाउनेछन्। प्राविधिक कारणले केही दिन बिरामी र सेवाग्राहीमा पर्न गएको असुविधाप्रति अस्पताल व्यवस्थापनले क्षमा माग्दै अब नियमित रूपमा सेवा उपलब्ध गराइने स्पष्ट पारेको छ।
काभ्रेपलाञ्चोकका साथै छिमेकी जिल्लाहरूबाट समेत ठूलो संख्यामा सर्वसाधारण स्वास्थ्य बीमा मार्फत उपचार गराउन धुलिखेल अस्पताल आउने गर्दछन्। सेवा पुनः सञ्चालनमा आएसँगै बिरामीहरूलाई ठूलो राहत मिलेको छ।