कात्तिक २२, वीरेन्द्रनगर : वीरेन्द्रनगर नगरपालिकाले जाजरकोटका भूकम्प पीडितलाई राहतस्वरुप रु २६ लाख रकम सहयोग गर्ने भएको छ। कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले रु २६ लाख रकम सहयोग गर्ने भएको हो।
वीरेन्द्रनगर नगर कार्यपालिकाको बैठकले नगरपालिकाको १६ वटै वडाको वडा विपद् कोषबाट रु १–१ लाख गरी १६ लाख र नगरपालिकाका तर्फबाट रु १० लाख गरी जम्मा रु २६ लाख सहयोग गर्ने निर्णय गरेको हो।
नगरप्रमुख मोहन माया ढकालले विपद् कोषमा भएको रकममध्ये पालिका भित्रका १६ वटा वडा र नगरपालिकाको गरी जम्मा रु २६ लाख भूकम्प प्रभावितको पुन : स्थापना कोषमा सहयोग गरिने बताउनुभयो।
वीरेन्द्रनगर नगरपालिकाले भूकम्प पीडित परिवारका बालबालिका वीरेन्द्रनगरको सामुदायिक विद्यालयमा अध्यनरत भएकालाई र नगरपालिकाभित्र अध्ययन गर्न चाहनेका लागि नगर शिक्षा विकास कोषमार्फत निःशुल्क अध्ययन व्यवस्थापन गर्ने भएको छ।
डुङ्गेश्वर गाउँपालिकाले पनि भूकम्प पीडितलाई रु ५० हजार राहत सहयोग गर्ने
यसैबीच दैलेखको डुङ्गेश्वर गाउँपालिकाले पनि भूकम्प पीडितलाई रु ५० हजार राहत सहयोग गर्ने बताएको छ। सानो भए पनि भूकम्प पीडितको घाउमा मल्हम लगाउन रु ५० हजार राहत रकम दिने निर्णय भएको गाउँपालिका अध्यक्ष सुन्दरकुमार केसीले जानकारी दिनुभयो।



