काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकहरूको पदावधि घटाएर तीन वर्ष कायम गर्ने विषयमा प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले सहमति जनाएको छ। राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि समितिमा भएको दफावार छलफलका क्रममा यस नयाँ व्यवस्थामा सहमति जुटेको हो।
हाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर र सञ्चालकहरूको कार्यकाल पाँच वर्षको रहँदै आएकोमा अब त्यसलाई घटाएर ३ वर्ष बनाउन लागिएको हो।समितिले गरेको सहमति अनुसार यदि सरकारलाई आवश्यक लागेमा उनीहरूको कार्यकाल थप दुई वर्षसम्म बढाउन सक्ने बाटो खुला राखिनेछ।
सुरुमा तयार पारिएको विधेयकको मस्यौदामा एक पटकका लागि मात्रै पदावधि थप्न सकिने प्रस्ताव गरिएको थियो। तर, समितिले भने ३ वर्षको कार्यकाल र आवश्यकता अनुसार दुई वर्ष थप्न सकिने मोडलमा सहमति कायम गरेको छ।
अर्थ समितिको दफावार छलफलबाट स्वीकृत भएको यो संशोधन प्रस्ताव अब पुनः संघीय संसदमा पेस गरिनेछ। संसदका दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्रै यस नयाँ व्यवस्था औपचारिक रूपमा ऐनका रूपमा लागू हुनेछ।