काठमाडौँ : चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन) मा नेपालतर्फ हुने धान तथा चामलको आयातमा उल्लेखनीय गिरावट आएको छ। भन्सार विभागले सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार साउन महिनामा नेपालले रु. १ अर्ब ७८ करोड ८ लाख बराबरको २४ हजार ९ सय ३९ टन धान-चामल भित्र्याएको छ।
अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा यो वर्षको आयात परिमाण र बाहिरिने रकम दुवैमा ठूलो कमी आएको देखिन्छ। गत वर्ष साउनमा नेपालले रु. २ अर्ब ९२ करोड ८३ लाख बराबरको ५७ हजार ८३ टन धान-चामल आयात गरेको थियो। यस तथ्याङ्कले यो वर्ष साउनमा मात्रै करिब रु. १ अर्ब १४ करोड रकम बाहिरिनबाट जोगिएको देखाउँछ।
मुख्य आयात विवरण:
सामान्य चामल : साउनमा रु. ८३ करोड ३३ लाख बराबरको ११ हजार ८ सय ५२ टन आयात भएको छ। यसमध्ये लगभग सम्पूर्ण भाग ११ हजार ८ सय ५१ टन भारतबाट र बाँकी २४० किलो इटालीबाट ल्याइएको छ।
बासमती चामल : दोस्रो ठूलो हिस्सा ओगटेको बासमती चामल रु. ५६ करोड ८५ लाख बराबरको ४ हजार १ सय २५ टन आयात भएको छ, जुन पूर्ण रूपमा भारतबाट मात्र भित्रिएको हो।
धान (नकुटेको): प्रशोधन नभएको धान रु. ३६ करोड ५० लाख बराबरको ८ हजार ६ सय २८ टन भारतबाट खरिद गरिएको छ।
कनिका: भारतबाट रु. १ करोड ३३ लाख मूल्य बराबरको ३ सय ३२ टन कनिका नेपाल भित्रिएको छ।
ब्राउन राइस: साउन महिनामा रु. ८९ हजार बराबरको ६ सय २५ किलो ब्राउन राइस आयात भएकोमा ५ सय किलो थाइल्यान्ड र १ सय २५ किलो भारतबाट आएको छ।
धानको बीउ : रु. ५ लाख १ हजार बराबरको ६७ किलो धानको बीउ भित्र्याइएको छ। बीउ आयातमा चीनको वर्चस्व देखिएको छ—चीनबाट रु. ४ लाख ९९ हजारको ४७ किलो र भारतबाट रु. २ हजार बराबरको २० किलो बीउ भित्रिएको छ।
सूचना विभाग दर्ता नं : ४०६१/७९/८०
तारकेश्वर, काठमाडौँ
सम्पर्क : 01-5912805/4975805
समाचार इमेल : satkarkhabar@gmail.com
इमेल : mkt.satkarkhabar@gmail.com