काठमाडौँ : बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आउँदो भदौ २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँड सम्पन्न गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर बिक्री खुला गर्न लागेको हो।
कम्पनीले आफ्नो कुल जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये आयोजना प्रभावित स्थानीयका लागि १० लाख ४० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ४ हजार कित्ता शेयर बाँडफाँड भइसकेको छ।
साथै, कर्मचारीहरूका लागि २० हजार ८०० कित्ता र सामूहिक लगानी कोषहरूका लागि ५२ हजार कित्ता साधारण शेयरसमेत सुरक्षित गरी बाँडफाँड भइसकेको छ। अब बाँकी रहेको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ लाख ६३ हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ।
यस आइपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। शेयर निष्कासन बन्द छिटोमा भदौ २५ गते हुनेछ भने सो अवधिमा पर्याप्त आवेदन नपरेमा ढिलोमा असोज ५ गतेसम्म लम्बिनेछ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा (ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखाहरूबाट सी-आस्बा प्रणालीमार्फत वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी सजिलै आवेदन दिन सक्नेछन्।
आइपीओका लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ (ICRANP Issuer Rating BB+) प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।