काठमाडौँ : रसुवामा आएको विनाशकारी बाढीका कारण ठूलो संख्यामा मानिसहरू बेपत्ता भएका छन्। नेपाल प्रहरीले बिहीबार बिहान सवा ८ बजे सार्वजनिक गरेको अद्यावधिक बुलेटिन अनुसार बाढीका कारण हालसम्म ८ सय २६ जना सम्पर्कविहीन रहेका छन्।
सम्पर्कविहीन हुनेहरूमा ठूलो संख्यामा पर्यटक तथा उद्धार र सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू रहेका छन्। प्रहरी बुलेटिन अनुसार बेपत्ता हुनेमा ४४ जना नेपाली सेना, २८ जना नेपाल प्रहरी, १३ जना सशस्त्र प्रहरी बल र ५ सय ७९ जना पर्यटक रहेका छन्।
सम्पर्कविहीन भएकाहरूको विवरण :
पर्यटक : ५७९
स्थानीय (रसुवा) : १६१
नेपाली सेना : ४४
नेपाल प्रहरी : २८
सशस्त्र प्रहरी बल : १३
स्थानीय (नुवाकोट) : १
बाढीले सुरक्षा निकायका क्याम्प, पुल तथा सञ्चार टावरहरू बगाएका कारण प्रभावित क्षेत्रमा तत्काल सम्पर्क स्थापित गर्न समस्या भइरहेको छ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारका लागि स्थलगत रूपमा तथा हेलिकप्टरमार्फत परिचालन गरिएको छ। नदी तटीय क्षेत्र तथा बाढी प्रभावित सम्भावित स्थानहरूमा बेपत्ता भएकाहरूको खोजी कार्यलाई तीव्रता दिइएको छ।