काठमाडौँ : युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थापक समूहको १ लाख १० हजार कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन पाउने गरी यो शेयर बिक्री खुला गरिएको हो।
बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय ५० रुपैयाँ तोकिएको छ। इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन पेस गर्नुपर्नेछ। आवेदन पेस गर्ने स्थान बालुवाटार, काठमाडौँस्थित बिक्री प्रबन्धक रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलको कार्यालय तोकिएको छ।
तोकिएको ३५ दिनको समयावधिभित्र हालका संस्थापक शेयरधनीहरूबाट खरिदका लागि कुनै आवेदन नपरेमा वा शेयर बाँकी रहेमा, उक्त शेयर अन्य सर्वसाधारण व्यक्ति तथा संघ-संस्थाहरूका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।