काठमाडौँ : चीनको तिब्बत क्षेत्र हुँदै रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउने र बेपत्ता हुनेहरूको खोजी कार्य तीव्र पारिएको छ। बाढीले बगाएर विभिन्न जिल्लाका नदी तटीय क्षेत्रमा पुर्याएकामध्ये बिहीबार दिउँसो ३ बजेसम्म २ सय ८९ जनाको शव फेला परेको छ।
प्रहरी तथा स्थानीय प्रशासनको दिउँसोसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै चितवनमा १ सय २१ जनाको शव भेटिएको छ। त्यसैगरी पूर्वी नवलपरासीमा ६५, धादिङ र गोरखामा २९/२९, तनहुँमा १६, पश्चिम नवलपरासीमा १४, नुवाकोटमा १२ र बाढीको मुख्य प्रभावित क्षेत्र रसुवामा ३ जनाको शव फेला परेको छ।
नदीमा आएको बहाव र किनारका विभिन्न स्थानमा अझै पनि शवहरू अड्किएको हुन सक्ने भएकाले त्रि-सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल) को संयुक्त टोलीले उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइरहेको छ।
प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई सजग रहन र बाढीमा बगेर आएका वस्तु वा शवहरू देखिएमा तुरुन्त नजिकैको प्रहरी कार्यालय वा सुरक्षा निकायलाई खबर गर्न आग्रह गरेको छ।