२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

रसुवाको बाढी : ५ हाइड्रोपावरका २१५ कर्मचारी सम्पर्कविहीन, २०० भन्दा बढी उद्धारको पर्खाइ

images

  • २०८३ भदौ ११, बिहीबार
  • 386
    SHARES
  • रसुवाको बाढी : ५ हाइड्रोपावरका २१५ कर्मचारी सम्पर्कविहीन, २०० भन्दा बढी उद्धारको पर्खाइ

    काठमाडौँ : भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा आएको भीषण बाढीका कारण सो क्षेत्रका ५ वटा जलविद्युत् आयोजनामा कार्यरत कम्तीमा २ सय १५ जना कर्मचारी तथा कामदारहरू सम्पर्कविहीन भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अनुसार बुधबारको विनाशकारी बाढीपछि सञ्चार सम्पर्क विच्छेद हुँदा उनीहरूको वास्तविक अवस्था अज्ञात बनेको छ।

    निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा ठेकेदार कम्पनी एन्ड्रिज हाइड्रोका ७६ जना (नेपाली र विदेशी), प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका ८ कोरियन नागरिकसहित ११ जना र परामर्शदाता टोलीका ७ जना गरी ९४ जना सम्पर्कविहीन छन्। उक्त आयोजनाको हेडवर्क्समा १२ जना र पावर हाउस क्षेत्रमा २०० भन्दा बढी कामदार उद्धारको पर्खाइमा रहेका छन्।

    त्यसैगरी, २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएर २५ जना स्टाफ र ३५ जना कामदार गरी ६० जना सम्पर्कविहीन भएका छन्। साथै, १११ मेगावाटको रसुवागढी आयोजनाका ५१ जना र ५ मेगावाटको मैलुङ खोला आयोजनाका ८ जना कर्मचारीसँग पनि बुधबारदेखि नै सञ्चार सम्पर्क हुन सकेको छैन। सिनो हाइड्रोका २ जना बेपत्ता छन् भने ३ चिनियाँ र २ नेपाली नजिकैको गाउँमा शरण लिएर उद्धारको पर्खाइमा छन्।

    बाढीप्रभावित विकट भौगोलिक क्षेत्रमा सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध भएकाले उद्धार कार्यमा ठूलो चुनौती थपिएको छ। जलविद्युत् प्रवर्द्धक तथा विकासकर्ता कम्पनीहरूले प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार टोली र राहत पठाउने निरन्तर प्रयास गरे पनि प्रतिकूल मौसम र उडान व्यवस्थापनका कारण उद्धार कार्य अघि बढाउन कठिनाइ भइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ