काठमाडौँ : देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन्। सबै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
रूपन्देही :
गैडहवा गाउँपालिका–३ अहिरण्डिहवास्थित सडकमा शनिबार दिउँसो मङ्गलपुरबाट अहिरण्डिहवातर्फ जाँदै गरेको लु.५१ प ९४९१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको छ। दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार कपिलवस्तु शुद्धोधन गाउँपालिका–३ ठुलो सिसनियाकी ४८ वर्षीया प्रभासी यादवको सिटी अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ।
बाँके :
नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोमा आइतबार बिहान चिसापानीबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे.१ ज १६६६ नम्बरको ईभी गाडीले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। अन्दाजी ४५ वर्षका पुरुषको संजिवनी कलेज अफ मेडिकल साइन्सेस नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो। मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन। ईभी गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मोरङ :
मिक्लाजुङ गाउँपालिका–१ लेकडाँडामा शनिबार राति शुकेबाट जौबारीतर्फ जाँदै गरेको को.२ त ९१७८ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाउँपालिका–८ हंसारीका २६ वर्षीय शुक्र दमाई रहेका छन्। मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा उपचारका क्रममा उनको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका सहचालकको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ।
बारा :
निजगढ नगरपालिका–९ स्थित बकैया पुलमा शनिबार राति ना.५ ख ७८०५ नम्बरको ट्रकसँग ना.४८ प ५१११ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ। दुर्घटनामा मोटरसाइकल चालक जितपुरसिमरा उपमहानगरपालिका–११ का २४ वर्षीय अभिषेक चौधरीको मृत्यु भएको छ। मेडिसिटी अस्पताल वीरगञ्जमा उपचारका क्रममा उनको ज्यान गएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।