काठमाडौँ : पञ्चकन्या ग्रुपले भदौ १० गते भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा पुनर्निर्माणका लागि कुल १ करोड ५५ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ। समूहले बाढीपहिरोका कारण जनधनको क्षति भई समस्यामा परेका नागरिकप्रति गहिरो संवेदना व्यक्त गर्दै सहायता रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको हो।
समूहका तर्फबाट उपलब्ध गराइएको उक्त रकममध्ये पञ्चकन्या ग्रुपमार्फत १ करोड ५५ लाख रुपैयाँ कोषमा हस्तान्तरण गरिएको छ भने समूहमा कार्यरत कर्मचारीहरूले व्यक्तिगत रूपमा १५ लाख रुपैयाँ संकलन गरी राहतमा योगदान पुर्याएका छन्। यसबाहेक, बाढी प्रभावित क्षेत्रमा भौतिक संरचनाहरूको पुनःनिर्माणका लागि पञ्चकन्या फाउन्डेसनमार्फत आवश्यक निर्माण सामग्रीहरू नेपाल सरकारलाई हस्तान्तरण गरिने समूहले जनाएको छ।
भदौ १५ गते ५५ औँ वर्षमा प्रवेश गरेको पञ्चकन्या समूहले यस पटक देशमा आइपरेको प्राकृतिक विपद् र नागरिकको पीडालाई मध्यनजर गर्दै वार्षिकोत्सवका औपचारिक तथा सांगीतिक कार्यक्रमहरू रद्द गरेको छ। विगतका वर्षहरूमा सामाजिक र सांस्कृतिक उत्सवका साथ स्थापना दिवस मनाउँदै आएको भए पनि संकटको यो घडीमा प्रभावित नागरिकको पुनर्स्थापनामा योगदान गर्नु मुख्य जिम्मेवारी भएको भन्दै सबै कार्यक्रम स्थगित गरिएको कम्पनीले स्पष्ट पारेको छ।
यसैबीच, रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवास्थित पञ्चकन्या स्टिल उद्योग परिसरमा बुधबार खुला रक्तदान कार्यक्रम आयोजना गरिएको छ। बाढी तथा सम्भावित विपद्का कारण हुन सक्ने रगतको अभावलाई पूर्ति गर्न रक्तदान कार्यक्रम राखिएको पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले जानकारी दिए। उनले सम्पूर्ण इच्छुक नागरिक तथा कर्मचारीहरूलाई रक्तदान गरी जीवन रक्षाको अभियानमा सहभागी हुन आग्रह समेत गरेका छन्।