२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नुवाकोटमा १ हजार ८४८ बेपत्ता, २ हजार ९९२ जनाको उद्धार

images

  • २०८३ भदौ १७, बुधबार
  • 401
    SHARES
  • नुवाकोटमा १ हजार ८४८ बेपत्ता, २ हजार ९९२ जनाको उद्धार

    काठमाडौँ : चीनको भोटेकोशी हुँदै रसुवागढी नाकाबाट त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नुवाकोट, रसुवा र धादिङ जिल्लामा ठूलो भौतिक तथा मानवीय क्षति पुर्‍याएको छ। बाढीले नुवाकोटका विभिन्न नदी तटीय बस्तीहरू बगाउनुका साथै ठूलो संख्यामा सर्वसाधारण प्रभावित भएका छन्।

    जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार बाढीका कारण हालसम्म १ हजार ८ सय ४८ जना बेपत्ता भएका छन्। प्रभावित क्षेत्रबाट हालसम्म २ हजार ९ सय ९२ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ भने घाइते भएका ४३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) इकबाल हवारीले जानकारी दिएका छन्।

    ४ स्थानीय तह उच्च प्रभावित :

    बाढीले नुवाकोटका चारवटा स्थानीय तह—विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिकाका नदी किनारमा रहेका मुख्य बस्तीहरू बगाएको छ। विशेष गरी शान्तिबजार, बेत्रावती, सोले, तुप्चेफाँट, शुभघाट, त्रिशूली, ढुंगे, देवीघाट बजार, बुधसिङघाट, महादेवफाँट, तारुकाघाट, केउरेनी र कोल्पुटारफाँट क्षेत्रमा बाढीले व्यापक क्षति पुर्‍याएको छ। सरकारी निकायहरूले जनधनको क्षतिको अन्तिम तथ्यांक संकलन गरिरहेका छन्।

    बेत्रावतीको एकै घरमा २२ जनाको शव भेटियो :

    बाढीको प्रभाव क्षेत्र मानिने विदुर नगरपालिका–१० बेत्रावतीस्थित नदीले भत्काएको एक घर (अस्थिपञ्जर बनेको संरचना) भित्र २२ जनाको शव फेला परेको छ। फेला परेकामध्ये ६ जनाको शव हेलिकप्टरसिमार्फत निकालिसकिएको छ भने बाँकी शवहरू संकलन गर्ने क्रम जारी छ।

    उक्त स्थान होटेल वा आवास गृह रहेको हुन सक्ने अनुमान गरिएको छ। गोसाइँकुण्ड मेलाका क्रममा तीर्थयात्रीहरू बास बसेको वा खाना खाइरहेको समयमा बाढीले पुरेको हुन सक्ने विदुर–१० का वडाध्यक्ष गणेशकुमार नेपालले बताए। हाल सुरक्षा निकायहरूले सो क्षेत्रमा शव संकलन तथा व्यवस्थापनको कार्य तीव्र बनाएका छन्।

    यातातयात संरचना ध्वस्त, छहरे-टोखा सडक एकतर्फी सुचारु :

    बाढीका कारण नुवाकोट र रसुवाको सिमानामा रहेको बेत्रावतीका दुईवटा पक्की पुल बगेपछि दुई जिल्लाबीचको सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। यस्तै, गल्छी–देवीघाट–विदुर–बेत्रावती त्रिदेशीय सडकखण्डका विभिन्न ठाउँमा पहिरो खसेर सडक बगेको छ।

    यसैबीच, काठमाडौंसँग नुवाकोटलाई जोड्ने छोटो दूरीको छहरे–टोखा सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–७ काफलडाँडामा रुखसहित खसेको पहिरो हटाई सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। सडक दुईतर्फी गराउने प्रयास भइरहे पनि सवारीको चाप धेरै रहेकाले सावधानीपूर्वक यात्रा गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ। यस्तै, अवरुद्ध बनेको त्रिदेशीय मार्गअन्तर्गत ढुंगेबाट गेर्खुतर्फ जाने सडक पन्छाएर आउजाउ सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ