काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेकाले मुलुकभरको मौसम प्रभावित बनेको छ। यतिबेला देशभर सामान्यतया बदली रहनुका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसोको मौसम पूर्वानुमान : आज दिउँसो देशभरको आकाश सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानका साथै पहाडी क्षेत्रका अधिकांश ठाउँहरूमा चट्याङ्सहित मध्यम वर्षाको सम्भावना छ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका धेरैजसो स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही ठाउँमा वर्षा हुनेछ। मधेश प्रदेशका भने थोरै स्थानहरूमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको आकलन गरिएको छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेग, कर्णालीका पहाडी क्षेत्र र लुम्बिनी अनि सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
रातिको मौसम पूर्वानुमान : आज राति पनि देशभरको मौसम बदली नै रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली भूभागका केही स्थान र बाँकी प्रदेशका हिमाली भेगका थोरै ठाउँमा चट्याङ्सहित वर्षा हुन सक्छ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका धेरैजसो स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। मधेश र कोशी प्रदेशका तराई भूभागका धेरै स्थान तथा अन्य प्रदेशका तराई भेगमा पनि चट्याङ्सहित वर्षाको सतर्कता अपनाउन भनिएको छ। रातिको समयमा पनि कोशी, बागमती र गण्डकीका पहाडी भेगका साथै कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराईका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।