मुस्ताङ : सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी–केरुङ नाका बाढीपहिरोका कारण ठप्प भएपछि मुस्ताङको कोरला नाका चीनसँगको व्यापारको मुख्य केन्द्र बनेको छ। नेपाल–चीन सीमास्थित लोमान्थाङ–४, न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पछिल्लो १५ दिनको अवधिमा मात्रै १ अर्ब ७८ करोड ४४ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
भन्सार कार्यालयका अनुसार भदौ २२ गतेयता कोरला नाका हुँदै दैनिक औसत ३० करोड रुपैयाँको हाराहारीमा भन्सार महसुल उठ्ने गरेको छ। हालैको एकै दिन (शुक्रबार) मात्रै कार्यालयले २७ करोड ११ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। सो दिन ७१ वटा व्यावसायिक कन्टेनर र १०६ वटा विद्युतीय सवारीसाधन (इभी) को भन्सार जाँचपास गरी गन्तव्यतर्फ पठाइएको थियो।
रसुवागढी नाका बन्द भएको भदौ १० देखि २५ गतेसम्मको अवधिमा मात्रै कोरला हुँदै नेपाल भित्रिएका ४ सय ३४ वटा मालवाहक कन्टेनर र ६ सय ४१ वटा विद्युतीय गाडीको भन्सार प्रक्रिया पूरा गरिएको छ। जबकी भदौ ९ गतेसम्म कोरलाबाट १ सय ३३ वटा कन्टेनर र १ सय ६३ वटा इभी मात्र भित्रिएका थिए।
चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरला नाकाबाट भित्रिएका सामग्री र गाडीको जाँचपासबाट कुल २ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन भइसकेको छ। विक्रम संवत् २०८२ भदौअघिसम्म उपल्लो मुस्ताङका स्थानीयका लागि मात्र सीमा व्यापारमा सीमित रहेको यो नाकालाई गत वर्ष अन्य मुख्य नाकाहरू सडक अवरुद्ध भएपछि सरकारले भदौ ३१ गतेदेखि वैकल्पिक राष्ट्रिय निकासी तथा पैठारी नाकाका रूपमा खुला गरेको थियो।
गत आर्थिक वर्ष २०८२/८३ मा कोरला नाकाबाट ३ हजार २ सय २३ वटा विद्युतीय सवारीसाधन र १ हजार ८ सय ७३ वटा कन्टेनर आयात भएका थिए। सो अवधिमा मुस्ताङ भन्सारले १४ अर्ब ४१ करोड रुपैयाँको आयात र २० करोड ५० लाख रुपैयाँ बराबरको निर्यात कारोबारबाट कुल ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो।