काठमाडौँ : गत भाद्र १० गते नेपालमा आएको विनाशकारी बाढीले प्रभावित बनाएका परिवारहरूको मलम बन्न सिक्किमका नागरिकहरूले ऐक्यबद्धता जनाएका छन्। बाढीपीडितको सहयोगका लागि ठमेल पर्यटन विकास परिषद्ले सञ्चालन गरिरहेको राहत संकलन अभियानमा हातेमालो गर्दै सिक्किमबाट संकलित रु. ७,१५,१०४/- (सात लाख पन्ध्र हजार एक सय चार रुपैयाँ) परिषद्लाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
सिक्किमस्थित ‘अर्गनाइजेसन अफ म्युजिसियन्स एन्ड आर्टिस्ट्स अफ सिक्किम’ (OMAS) र ‘डर्टी एन्जल्स मोटरसाइकल क्लब’ (DAMC), ग्याङटोकको संयुक्त पहलमा गत सेप्टेम्बर १ र २ मा राहत संकलन अभियान सञ्चालन गरिएको थियो। सिक्किममा संकलित सो रकम आज ठमेल पर्यटन विकास परिषद्को सभाकक्षमा आयोजित एक विशेष कार्यक्रमका बिच परिषद्लाई सुम्पिइएको हो। परिषद्ले यस रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नेछ।
रकम हस्तान्तरण कार्यक्रममा सिक्किमका मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव एवं DAMC र OMAS का संस्थापक सदस्य छिरिङ वाङचुक लेप्चा, सिक्किम सरकारका तथ्याङ्क अधिकृत पेम्बा छोपेल भुटिया, DAMC का संस्थापक सदस्य केसाङ नोर्गे शेर्पा, युवा संयोजक छेवाङ भुटिया र नेपाल–भारत उद्योग वाणिज्य संघका महासचिव राजन शर्मा लगायतका विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष राजुमान डङ्गोलले भूगोल र सीमाभन्दा माथि उठेर देखाइएको यस मानवीय सद्भाव नेपाल र सिक्किमबिचको ऐतिहासिक आत्मीयताको सुन्दर उदाहरण भएको बताए। उनले भने, "यो सहयोग बाढीपीडितका लागि राहत मात्र नभई विपद्का बेला एक–अर्काको साथ उभिने ठूलो प्रेरणादायी सन्देश हो।"
परिषद्का महासचिव पशुपति कँडेलले एक विज्ञप्ति जारी गर्दै सिक्किमका सहयोगी संस्थाहरू OMAS, DAMC र सम्पूर्ण दाताहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्। साथै, सिक्किममा यस अभियानलाई प्रभावकारी रूपमा समन्वय र सहजीकरण गर्न महत्वपूर्ण भूमिका खेल्नुहुने परिषद्की कोषाध्यक्ष किन्चु लामु भुटिया श्रेष्ठलाई परिषद्को तर्फबाट विशेष धन्यवाद तथा प्रशंसा व्यक्त गरिएको छ।
ठमेल पर्यटन विकास परिषद्ले विपद्को यस कठिन घडीमा सहयोगको हात बढाउने सम्पूर्ण सहयोगी मनहरूप्रति कृतज्ञता प्रकट गर्दै नेपाल र सिक्किमबिचको जनस्तरको भावनात्मक सम्बन्ध आगामी दिनहरूमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरेको छ।




