काठमाडौँ : बैंकिङ प्रणालीमा प्रयाप्त तरलता र कर्जाको माग सुस्त रहेका कारण वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दती निक्षेपको ब्याजदरमा पुनः कटौती गरेका छन्। अघिल्लो महिनाको तुलनामा असोजमा औसत ब्याजदर थप तल झरेको छ।
असोजका लागि बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपतर्फको औसत अधिकतम ब्याजदर ४.०८९५ प्रतिशत कायम भएको छ, जुन भदौमा ४.१३६ प्रतिशत थियो। त्यसैगरी, संस्थागत निक्षेपको औसत ब्याजदर पनि भदौको ३.०८१ प्रतिशतबाट घटेर ३.०६६५ प्रतिशतमा सीमित भएको छ।
असोज महिनामा प्रभु बैंक, सानिमा बैंक, एनएमबी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ सबैभन्दा बढी अर्थात् ४.५० प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छन्। संस्थागत मुद्दती निक्षेपको हकमा भने सानिमा बैंकले सबैभन्दा बढी ३.५१ प्रतिशत ब्याजदर तोकेको छ, जसले अघिल्लो महिनाको ३.३० प्रतिशतको तुलनामा केही वृद्धि दर्ता गरेको छ।
कुल २० वाणिज्य बैंकहरूमध्ये अधिकांश अर्थात् १५ भन्दा बढी बैंकहरूले असोजका लागि ब्याजदरमा कुनै फेरबदल नगरी भदौ महिनाकै दरलाई यथावत राखेका छन्। एनआईशी एशिया, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक, र नेपाल एसबीआई बैंक जस्ता प्रमुख बैंकहरूले व्यक्तिगत र संस्थागत दुवैतर्फका मुद्दती निक्षेपमा पुरानै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेका हुन्।
केही बैंकहरूले भने व्यक्तिगत निक्षेपतर्फको ब्याजदरमा कटौती गरेका छन्। नबिल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक र एभरेष्ट बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। यसैगरी, सिटिजन्स इन्टरनेशनल बैंकले व्यक्तिगततर्फ स्थिर राख्दै संस्थागत निक्षेपको दरमा भने कटौती गरेको छ भने एभरेष्ट बैंकले व्यक्तिगत र संस्थागत दुवैतर्फ ब्याज घटाएको छ।
बैंकहरूमा निक्षेपको मात्रा निरन्तर बढी रहने तर उत्पादक तथा व्यापारिक क्षेत्रबाट कर्जाको माग नबढ्ने स्थितिले गर्दा निक्षेपकर्ताहरूका लागि प्रतिफल घट्दो क्रममा छ। ब्याजदर थप ओरालो लाग्दा बचतकर्ताहरू प्रभावित बनेका छन् भने वित्तीय बजारमा तरलता व्यवस्थापन बैंकहरूका लागि चुनौतीपूर्ण बन्दै गएको छ।
असोज महिनाका लागि बैंक अनुसारको ब्याजदर तालिका :



