रसुवा : भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको भिषण बाढीका कारण माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा ठुलो क्षति पुग्नुका साथै धेरै व्यक्तिहरू बेपत्ता भएका थिए। उक्त दुर्घटनामा परेका व्यक्तिहरूको खोजीका क्रममा थप ११ जनाको शव फेला पारिएको छ।
असोज ३ गते आयोजनाका प्रतिनिधि तथा उद्धार टोलीको संयुक्त प्रयासमा खोजी गर्दा अडिट ३ टनेलको जालीमा अल्झिएको र हिलोमा गाडिएको अवस्थामा ती शवहरू फेला परेका हुन्। सुरक्षाकर्मी तथा संयुक्त उद्धार टोलीले कठिन परिस्थितिमा हिलोबाट शवहरू बाहिर निकालेको नेपाली सेनाले जानकारी दिएको छ।
बाढीपछि आयोजनास्थलबाट ठुलो संख्यामा कामदार तथा स्थानीयहरू सम्पर्कविहीन भएका थिए। बेपत्ता अन्य व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रताका साथ निरन्तरता दिइरहेको नेपाली सेनाले जनाएको छ।