२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

रसुवा बाढीको असर मुस्ताङको पर्यटनमा : साउनको तुलनामा भदौमा पर्यटकको सङ्ख्या झन्डै आधा घट्यो

images

  • २०८३ असोज ४, आइतबार
  • 341
    SHARES
  • रसुवा बाढीको असर मुस्ताङको पर्यटनमा : साउनको तुलनामा भदौमा पर्यटकको सङ्ख्या झन्डै आधा घट्यो

    जोमसोम : गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको नकारात्मक प्रभाव हिमाली जिल्ला मुस्ताङको पर्यटन क्षेत्रमा पनि परेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार साउनको तुलनामा भदौ महिनामा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा ठूलो गिरावट आएको छ।

    कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडकमार्गमा बाढी, पहिरो र नदी कटानका कारण साउन महिनामा पटक-पटक यातायात ठप्प भए पनि पर्यटकको चहलपहल राम्रै थियो। तर, भदौको दोस्रो साता रसुवामा भएको विपद्पछि भने पर्यटकको सङ्ख्यामा ह्वात्तै कमी आएको हो।

    ४७ प्रतिशतभन्दा बढीले घट्यो पर्यटकीय आगमन : 

    प्रहरीको तथ्याङ्क अनुसार साउनको तुलनामा भदौमा २९ हजार २ सय ७४ जना (४७.७८ प्रतिशत) कम पर्यटक मुस्ताङ भित्रिएका छन्। म्याग्दी र मुस्ताङको सीमा क्षेत्रमा रहेको घाँसा प्रहरी चौकीको तथ्याङ्क अनुसार:

    • साउन महिना : आन्तरिक ३० हजार ६ सय ५५, सार्क देशका ३१ हजार ५ सय ७५ र अन्य तेस्रो मुलुकका १९३ गरी कुल ६१ हजार २ सय ६३ जना पर्यटक मुस्ताङ प्रवेश गरेका थिए।

    • भदौ महिना : आन्तरिक १६ हजार ५ सय ३, सार्क देशका १५ हजार १ सय ३८ र अन्य मुलुकका ३ सय ४८ गरी कुल ३१ हजार ९ सय ८९ जना पर्यटकले मात्र मुस्ताङ भ्रमण गरे।

    जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार साउनको तुलनामा भदौमा आन्तरिक पर्यटकातर्फ ४६.१६ प्रतिशत (१४ हजार १ सय ५२ जना) र सार्क पर्यटकातर्फ ५२.०५ प्रतिशत (१६ हजार ४ सय ३७ जना) ले कमी आएको छ।

    तेस्रो मुलुकका पर्यटक भने बढे : 

    आन्तरिक र सार्क क्षेत्रका पर्यटकको सङ्ख्या उल्लेख्य घटे पनि तेस्रो मुलुक (अन्तर्देशीय) बाट आउने पर्यटकको सङ्ख्यामा भने केही सुधार देखिएको छ। साउनमा १ सय ९३ जना तेस्रो मुलुकका पर्यटक मुस्ताङ पुगेकोमा भदौमा १ सय ५५ जनाले वृद्धि भई ३ सय ४८ जना पुगेका छन्।

    दुई महिनामा ९३ हजारभन्दा बढी पर्यटक : 

    चालु आर्थिक वर्षको साउन र भदौ गरी दुई महिनाको अवधिमा कुल ९३ हजार २ सय ५२ जना पर्यटकले मुस्ताङको भ्रमण गरेका छन्। जसमध्ये आन्तरिक ४७ हजार १ सय ५८, सार्क देशका ४६ हजार ७ सय १३ र अन्य तेस्रो मुलुकका ५ सय ४१ जना रहेका छन्।

    रसुवामा भएको ठूलो जनधनको क्षतिका कारण देशैभर शोकको वातावरण सिर्जना हुनुका साथै यात्रा सुरक्षालाई लिएर मानिसहरू सतर्क भएकाले भदौमा पर्यटकको सङ्ख्या घटेको हुनसक्ने प्रहरी निरीक्षक बस्यालको भनाइ छ। यद्यपि, गत आर्थिक वर्ष २०८२/८३ को साउन (१९ हजार ७ सय ८१) र भदौ (२३ हजार २ सय ५) को तुलनामा भने चालु आर्थिक वर्षको सोही अवधिमा समग्र पर्यटक आगमन दर उच्च नै रहेको प्रहरीको तथ्याङ्कले देखाउँछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ