काठमाडौँ : सरकारले बिजुली महसुलमा लगाउँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने प्रक्रिया अघि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच भएको छलफलमा बिजुलीमा लाग्दै आएको भ्याट हटाउने सहमति जुटेको ऊर्जा मन्त्रालयले जनाएको छ।
छलफलका क्रममा ऊर्जामन्त्री श्रेष्ठले बिजुलीमा भ्याट छुट दिने प्रस्ताव राखेका थिए, जसमा अर्थमन्त्री वाग्लेले समर्थन जनाएका हुन्। सहमति भएसँगै अब अर्थमन्त्रीले यो प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्नेछन्। मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि बिजुलीमा भ्याट नलाग्ने व्यवस्था औपचारिक रूपमा लागू हुनेछ।
चालु आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री वाग्लेले बिजुलीमा भ्याट लगाउने व्यवस्था लागू गरेका थिए। जसअन्तर्गत हाल घरायसी उपभोक्तालाई ५ प्रतिशत र औद्योगिक तथा गैरघरायसी ग्राहकलाई १३ प्रतिशत भ्याट असुल हुँदै आएको छ।
बजेटमार्फत गरिएको यस व्यवस्थाको चौतर्फी विरोध र आलोचना भएपछि सरकार आफ्नो निर्णयबाट पछि हट्दै भ्याट खारेज गर्ने तयारीमा लागेको हो।