नुवाकोट : लेदोसहितको भीषण बाढीका कारण भौतिक क्षति व्यहोरेको कृषि विकास बैंकको त्रिशुली शाखाले बट्टारबाट अस्थायी रूपमा बैंकिङ सेवा सुरु गरेको छ।
केही समयअघि रसुवा, नुवाकोट र धादिङ क्षेत्रमा आएको बाढीले बैंकको त्रिशुलीस्थित भवन, प्राविधिक उपकरण तथा सञ्चार प्रणालीमा गम्भीर क्षति पुर्याएको थियो। बाढीका कारण पुरानै स्थानबाट सेवा दिन असम्भव भएपछि ग्राहकको सुविधालाई मध्यनजर गर्दै बट्टारस्थित अस्थायी कार्यालयबाट नियमित कारोबार थालिएको बैंकले जनाएको छ।
हाल उक्त अस्थायी कार्यालयबाट निक्षेप संकलन, नगद भुक्तानी, रेमिट्यान्स सेवा लगायत सम्पूर्ण बैंकिङ सुविधा बिना अवरोध उपलब्ध भइरहेका छन्। बैंक व्यवस्थापनका अनुसार शाखालाई नयाँ र उपयुक्त स्थानमा स्थायी रूपमा सञ्चालन गर्नका लागि तयारी तीव्रताका साथ भइरहेको छ। छिट्टै नै नयाँ ठाउँबाट सेवा सुरु गरिने जानकारी दिइएको छ।
अस्थायी स्थानान्तरणका कारण सेवाग्राहीमा पर्न गएको असुविधाप्रति बैंकले क्षमा माग्दै, यो कठिन परिस्थितिमा पनि ग्राहकहरूले देखाएको धैर्यता र सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गरेको छ।