काठमाडौँ : नेपाल सरकारको टाउकामा रहेको कुल सार्वजनिक ऋण झन्डै ३० खर्ब रुपैयाँ नजिक पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पछिल्लो विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिना (भदौ मसान्त) सम्ममा मुलुकको कुल सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब ५ करोड रुपैयाँ पुगेको हो।
गत असार मसान्तको तुलनामा भने भदौ महिनामा ऋणको दायित्वमा केही कमी आएको छ। चालु आर्थिक वर्षको सुरुवाती दुई महिनामा सरकारले नयाँ थपेको ऋणको तुलनामा पुराना ऋणको सावाँ भुक्तानी बढी गरेपछि कुल ऋणको आकार घटेको हो। यस अवधिमा सरकारले ६१ अर्ब ५ करोड रुपैयाँ नयाँ ऋण उठाएको छ भने पुराना ऋणको सावाँ भुक्तानीमा ७० अर्ब १३ करोड रुपैयाँ खर्च गरेको छ।
हाल कायम रहेको कुल सार्वजनिक ऋणमध्ये :
आन्तरिक ऋण : १३ खर्ब ६१ अर्ब ८७ करोड रुपैयाँ
वाह्य ऋण : १६ खर्ब ११ अर्ब १८ करोड रुपैयाँ
अहिलेको यस ऋण रकम नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.०५ प्रतिशत बराबर हो।
सरकारले चालु आर्थिक वर्षभरिमा कुल ६ खर्ब ५८ अर्ब रुपैयाँ सार्वजनिक ऋण जुटाउने लक्ष्य लिएको छ। भदौ मसान्तसम्म आइपुग्दा वार्षिक लक्ष्यको करिब ९ प्रतिशत (६१ अर्ब ५ करोड रुपैयाँ) ऋण उठाइसकिएको छ। यसरी उठाइएको नयाँ ऋणमा आन्तरिक ऋणको हिस्सा ८२ प्रतिशत र बाह्य ऋणको हिस्सा १८ प्रतिशत रहेको छ।