काठमाडौँ : भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन–भदौ) मा नेपालको वैदेशिक व्यापारको आकारमा व्यापक विस्तार भएको छ। समीक्षा अवधिमा कुल वैदेशिक व्यापार ३५.६४ प्रतिशतले बढेर ४ खर्ब ७८ अर्ब १० करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो व्यापार ३ खर्ब ५२ अर्ब ४७ करोड रुपैयाँमा सीमित थियो। आन्तरिक बजारमा आर्थिक गतिविधि र उपभोगमा आएको सुधारले समग्र व्यापारको परिमाण बढाउन सहयोग पुर्याएको देखिन्छ।
यस अवधिमा मुलुकको कुल निर्यात व्यापारमा ६१.८६ प्रतिशतको उच्च र प्रोत्साहनजनक वृद्धि हासिल भएको छ। गत वर्षको दुई महिनामा ४७ अर्ब ३१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा यस वर्ष बढेर ७६ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। प्रशोधित वनस्पति तेल, कपडा, धागो तथा परम्परागत कृषिजन्य उत्पादनको निर्यातमा आएको सुधारले समग्र निर्यात व्यापारको वृद्धिदरलाई बलियो बनाएको छ।
निर्यातमा उल्लेख्य वृद्धि देखिए पनि आयातको आकार निकै ठुलो भएकाले राष्ट्रिय अर्थतन्त्रमा आयातको चाप यथावत् छ। चालु आवको दुई महिनामा कुल आयात ३१.५८ प्रतिशतले बढेर ४ खर्ब १ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्ष सोही अवधिमा ३ खर्ब ५ अर्ब १५ करोड रुपैयाँथियो। औद्योगिक कच्चा पदार्थ, इन्धन, सवारी साधन तथा खाद्यान्नको आयातमा भएको वृद्धिले आयात बिल थप बढाएको छ।
व्यापारको परिमाण बढे पनि आयात र निर्यात बीचको फराकिलो अन्तरका कारण व्यापार घाटा थप चुलिएको छ। चालु आर्थिक वर्षको पहिलो दुई महिनामै व्यापार घाटा २६.०२ प्रतिशतले बढेर ३ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्ष २ खर्ब ५७ अर्ब ८३ करोड रुपैयाँ थियो। निर्यातको वृद्धिदर उच्च रहे तापनि कुल परिमाण सानो भएकाले बढ्दो आयातलाई सन्तुलनमा ल्याउन र व्यापार घाटा घटाउन आन्तरिक उत्पादन तथा दिगो निर्यात रणनीतिमा जोड दिनुपर्ने देखिन्छ।