काठमाडौँ : नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाली शेयर बजारलाई थप चलायमान र आधुनिक बनाउन धितोपत्रको अन्तरदिवसीय कारोबार (इन्ट्राडे ट्रेडिङ) सम्बन्धी अवधारणा पत्र, २०८३ सार्वजनिक गरेको छ।
हाल नेपाली शेयर बजार पूर्ण रूपमा डेलिभरीमा आधारित छ, जसका कारण लगानीकर्ताले खरिद गरेको शेयर खातामा नआएसम्म बिक्री गर्न पाउँदैनन्। यसले गर्दा बजारमा सोचेअनुसारको तरलता (Liquidity), वास्तविक मूल्य अन्वेषण (Price Discovery) र कारोबारमा निरन्तरता आउन सकेको छैन। यसै समस्यालाई सम्बोधन गर्न एउटै कारोबार दिनभित्र धितोपत्र खरिद-बिक्री गरी सोही दिन हिसाब राफसाफ गर्ने 'इन्ट्राडे ट्रेडिङ' मोडल अघि सारिएको हो।
के-के छन् अवधारणा पत्रका मुख्य विशेषता ?
-
'पहिले खरिद, पछि बिक्री' मोडल : सुरुआती चरणमा लगानीकर्ताले सुरुमा शेयर खरिद गरेर सोही दिन बिक्री गर्न पाउनेछन्। 'पहिले बिक्री गरेर पछि खरिद गर्ने' (सर्ट सेलिङ) र धितोपत्र सापटी (SLB) सम्बन्धी व्यवस्था भने कानुनी, प्राविधिक र संस्थागत पूर्वाधार पूर्ण बनेपछि मात्र लागू गरिनेछ।
-
योग्य धितोपत्रको मात्र चयन : कम तरलता भएका शेयरमा इन्ट्राडे गर्दा अत्यधिक मूल्य उतारचढाव र जोखिम बढ्ने भएकाले सुरुमै सबै सूचीकृत कम्पनीमा यो लागू हुने छैन। निश्चित मापदण्ड पूरा गरेका तरलतायुक्त 'योग्य धितोपत्र'मा मात्र यो सुविधा दिइनेछ।
-
एकीकृत 'नेपाल इन्ट्राडे ट्रेडिङ मोडल' : छुट्टै नयाँ संरचना बनाउनुको साटो सेबोन, नेप्से (NEPSE), सिडीएससी (CDSC), ब्रोकर र बैंकिङ प्रणालीलाई प्रविधिमार्फत आपसमा जोडेर यो प्रणाली सञ्चालन गरिनेछ।
-
लगानीकर्ता सुरक्षा र सचेतना : जोखिममा आधारित योग्यता निर्धारण गरी लगानीकर्तालाई इन्ट्राडे कारोबारमा पस्नुअघि जोखिम प्रकटीकरण र अभिमुखीकरण अनिवार्य गराइने प्रस्ताव छ।
कार्यान्वयनका चुनौती र आगामी दिशा :
नेपालमा डिम्याट र अनलाइन ट्रेडिङ प्रणाली स्थापित भइसकेकाले बजारलाई 'सशर्त रूपमा तयार' मानिए पनि अझै केही पूर्वाधार सुदृढ गर्नुपर्ने देखिन्छ। विशेषगरी ब्रोकरको जोखिम व्यवस्थापन प्रणाली (RMS-OMS) सुधार, वास्तविक समयमा बजार निगरानी (Real-time monitoring), साइबर सुरक्षा र सम्बन्धित कानुनी नियमावली संशोधन गर्न बाँकी छ।
यसै विषयलाई ध्यानमा राख्दै धितोपत्र बोर्डले सिधै पूर्ण रूपमा लागू गर्नुको सट्टा सुरुमा कानुनी र प्राविधिक पूर्वाधार पूरा गरी सीमित धितोपत्र, ब्रोकर र लगानीकर्ताहरूका साथ 'पाइलट परीक्षण' (Pilot Testing) गर्ने योजना बनाएको छ। पाइलट परीक्षणको नतिजा र अनुभवका आधारमा यसको दायरा बिस्तारै बढाउँदै लैजाने बोर्डको तयारी छ।
sebon intraday trading 2083.pdf :To download file click here



