काठमाडौँ : लगातार परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह ह्वात्तै बढेको छ। बहाव बढेसँगै स्थिति व्यवस्थापनका लागि कोशी ब्यारेजका ५६ मध्ये ३३ वटा ढोका खोलिएका छन्। गृह मन्त्रालयकी सूचना अधिकारी एवम् उपसचिव रमा आचार्यका अनुसार अहिले ब्यारेज क्षेत्रमा पानीको बहाव २ लाख ५६ हजार क्युसेक पुगेको छ। गत वर्ष यही समयमा कोशीमा ५ लाख क्युसेकसम्म पानीको बहाव मापन गरिएको थियो।
नदीमा पानीको सतह बढे पनि हालसम्म खतराको स्थिति नरहेको मन्त्रालयले जनाएको छ। यद्यपि, सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले सो क्षेत्रमा उच्च सतर्कता अपनाएको छ। पानीको बहाव अझै बढेमा आवश्यकता अनुसार थप ढोकाहरू खोल्ने तयारीमा स्थानीय प्रशासन छ। हालसम्म कोशी पुल भएर हुने सवारी साधनको आवतजावत भने निर्वाध रूपमा भइरहेको छ।