२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय ग्रिडमा जोडियो 

images

  • २०८३ असोज ९, शुक्रबार
  • 221
    SHARES
  • ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय ग्रिडमा जोडियो 

    म्याग्दी : नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडद्वारा निर्मित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सफलतापूर्वक जोडिएको छ। म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्मित यस आयोजनाका २०/२० मेगावाटका दुईवटा युनिटबाट परीक्षण उत्पादन सुरु गरी राष्ट्रिय ग्रिडमा समाहित गरिएको हो।

    आयोजनाबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनमार्फत प्रवाह गरिएको छ। प्राधिकरण र रघुगंगा हाइड्रोपावरबीच भएको विद्युत् खरिद-बिक्री सम्झौता (PPA) अनुसार अवको १५ दिनसम्म परीक्षण उत्पादन चल्नेछ। परीक्षण सफल भएलगत्तै आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु हुनेछ।

    भौगोलिक जटिलता, कोभिड-१९ को महामारी तथा बाढीपहिरोजस्ता ठूला प्राकृतिक चुनौतीहरू पार गर्दै आयोजना निर्माण सम्पन्न गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं रघुगंगा हाइड्रोपावरका अध्यक्ष दीर्घायु कुमार श्रेष्ठले जानकारी दिनुभयो।

    यस आयोजना 'पिकिङ रन अफ द रिभर' मोडलमा आधारित भएकाले विद्युत्‌को उच्च माग हुने साँझको समयमा दैनिक चार घण्टा पूर्ण क्षमतामा (४० मेगावाट) चलाउन सकिनेछ। यसले हिउँदको समयमा हुने ऊर्जा माग व्यवस्थापनमा ठूलो सहयोग पुर्‍याउनेछ।

    आयोजनाबाट वार्षिक २४ करोड ७९ लाख युनिट विद्युत् उत्पादन हुनेछ, जसमध्ये करिब ३४ प्रतिशत उत्पादन सुक्खायाममै हुने अनुमान छ। निर्माण अवधिको ब्याजबाहेक आयोजनाको कुल अनुमानित लागत९ अर्ब १७ करोड रुपैयाँ रहेको छ। यसमा नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरणको लगानीका साथै भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋण (Line of Credit) समावेश छ।

    निर्माण साझेदारहरू :

    सिभिल तथा हाइड्रोमेकानिकल (EPC ढाँचा) : जयप्रकाश एसोसिएट्स लिमिटेड, भारत (सम्झौता: २०७४ मंसिर ५)

    इलेक्ट्रोमेकानिकल कार्य : भारत हेभी इलेक्ट्रिकल लिमिटेड (BHEL) (सम्झौता: २०७६ असोज २८)

    निर्माण परामर्शदाता (सुपरीवेक्षण) : वाप्कोस (WAPCOS) लिमिटेड, भारत

    सुरुमा नेपाल विद्युत् प्राधिकरण स्वयंले ३२ मेगावाट क्षमतामा यो आयोजनाको निर्माण अघि बढाएको थियो। तर, तत्कालीन निर्माण व्यवसायीको फितलो कार्यसम्पादनका कारण पुरानो ठेक्का रद्द गरियो। त्यसपछि आयोजनाको डिजाइन पुनरावलोकन गरी क्षमता ४० मेगावाट पुर्‍याइयो र प्राधिकरणको सहायक कम्पनीमार्फत 'कम्पनी मोडल' मा निर्माण कार्य अघि बढाइएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ