पाल्पा : अविरल वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिकाका फरक-फरक स्थानमा गएराति र आज बिहान पहिरो जाँदा एक जनाको ज्यान गएको छ भने अन्य तीन जना बेपत्ता भएका छन्।
माथागढी गाउँपालिका-२, रुप्सेमा गएराति खसेको पहिरोले घर पुर्दा ७५ वर्षीय शेरबहादुर चिदी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्यचौकी लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्। पहिरो जाने समयमा चिदीकी श्रीमती भने शौच गर्न बाहिर निस्किएकाले सकुशल रहन सफल भएकी छन्।
त्यस्तै, माथागढी गाउँपालिका-३, भैसकट्टामा आइतबार बिहान करिब साढे ४ बजेतिर गएको पहिरोले दुईवटा घर पुरिएको छ। पहिरोमा परी ७५ वर्षीय लिलबहादुर घर्ती मगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकी १५ वर्षीया झरना घर्ती बेपत्ता भएका छन्।
स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारका लागि घटनास्थल पुगिसकेको छ। पहिरो निकै ठूलो भएकाले उद्धारकार्यमा केही समय लाग्ने गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले जानकारी दिएका छन्।
घटनाको थप विवरण आउन बाँकी छ।