मनाङ : मनाङको विकट नार–फू क्षेत्रमा पर्ने ७,१२६ मिटर अग्लो हिमलुङ हिमाल आरोहणका क्रममा गएको हिमपहिरोमा परी १० जना आरोही तथा शेर्पा सहयोगीहरू सम्पर्कविहीन भएका छन्। यो घटना दुई फरक–फरक एक्सपिडिसन एजेन्सीमार्फत आरोहणमा निस्किएका टोलीहरू माथिल्लो क्याम्पतर्फ अघि बढ्ने क्रममा भएको हो।
एक्सपिडिसन अपरेटर्स एसोसिएसन नेपालका अनुसार हिमपहिरोमा परेर हराइरहेका मध्ये इम्याजिन नेपाल प्रालिका २ जना र हिमालयन होलिडेज नेपालका ८ जना रहेका छन्। यो टोली हिमाल आरोहणका लागि आधार शिविर पुगेका कुल २४ जना आरोहीहरूमध्ये सबैभन्दा अगाडि रहेको थियो।
हाल शरद ऋतुको अनुकूल मौसम भएकाले हिमलुङ हिमाल क्षेत्रमा अन्य थुप्रै स्वदेशी तथा विदेशी आरोही टोलीहरू पनि सक्रिय रहेका छन्। एकाएक आएको हिमपहिरोले उच्च हिमाली क्षेत्रमा आरोहण गरिरहेका अन्य टोलीहरूमा समेत त्रास र अन्योल सिर्जना गरेको छ।
पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेका अनुसार सम्पर्कविहीन आरोहीहरूको अवस्था पत्ता लगाउन र तत्काल उद्धार कार्य अघि बढाउन विभागले नजिकबाट स्थिति नियालिरहेको छ। स्थानीय प्रशासन, सुरक्षा निकाय र हवाई उद्धार संस्थाहरूसँग आवश्यक समन्वय गरी खोजी तीव्र बनाउने प्रयास भइरहेको छ।
उक्त दुर्गम हिमाली क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले घटनाको पूर्ण र विस्तृत विवरण आउन अझै बाँकी रहेको छ। एसोसिएसन र पर्यटन विभागले थप जानकारी संकलन भइरहेको र उद्धार टोलीहरूलाई तयारी अवस्थामा राखिएको जनाएका छन्।