काठमाडौँ : संखुवासभाको भोटखोला गाउँपालिका–२ मा सांग्रिला ऊर्जा लिमिटेडले निर्माण अघि बढाएको ६३ मेगावाट क्षमताको छुजुङ खोला अर्धजलाशययुक्त (पीआरओआर) जलविद्युत आयोजनाका लागि आवश्यक सम्पूर्ण लगानी जुटेको छ। माछापुच्छ्रे बैंकको अगुवाइमा ६ वटा बैंक तथा वित्तीय संस्था र प्रवर्द्धक कम्पनीहरूबीच सहवित्तीयकरण ऋण सम्झौता भएसँगै आयोजनाको वित्तीय व्यवस्थापन औपचारिक रूपमा टुंगिएको हो।
भदौ १० को भोटेकोशी क्षेत्रको बाढीपछि वित्तीय स्रोत सुनिश्चितता गर्ने छुजुङ खोला सम्भवतः पहिलो जलविद्युत आयोजना बनेको छ। आयोजनाको कुल अनुमानित लागत रु १२ अर्ब रहेको छ। यसमध्ये ७५ प्रतिशत अर्थात् रु ९ अर्ब बैंक तथा वित्तीय संस्थाको ऋणमार्फत र बाँकी २५ प्रतिशत अर्थात् रु ३ अर्ब संस्थापकहरूको स्वपुँजी (इक्विटी) बाट जुटाइएको छ।
-
ऋण लगानीकर्ता : माछापुच्छ्रे बैंक (अगुवा), प्रभु बैंक र लुम्बिनी विकास बैंक (सह-अगुवा), साथै मुक्तिनाथ विकास बैंक, एनआईसी एशिया बैंक र सांग्रिला डेभलपमेन्ट बैंक (सदस्य)।
-
मुख्य इक्विटी साझेदार : घलेम्दी हाइड्रो लिमिटेडले आयोजनामा करिब रु १ अर्ब १० करोड सेयर लगानी गर्नेछ।
प्रतिमेगावाट अनुमानित लागत रु १९ करोड रहेकाले यो आयोजना वित्तीय रूपमा निकै सस्तो र आकर्षक मानिएको छ। आयोजनाको साधारण पेब्याक अवधि ५.७३ वर्ष, इक्विटीमा प्रतिफल (आरओई) २५.६७ प्रतिशत, आन्तरिक प्रतिफल दर (आईआरआर) १५.४७ प्रतिशत, लाभ-लागत अनुपात १.५८ र खुद वर्तमान मूल्य (एनपीभी) रु ५ अर्ब ३३ करोड रहने प्रक्षेपण गरिएको छ।
उत्पादन :
नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) भइसकेको यस आयोजनाबाट वार्षिक ३७ करोड १८ लाख युनिट बिजुली उत्पादन हुने सम्भाव्यता अध्ययनले देखाएको छ।
-
सञ्चालन प्रकृति : सुक्खायाममा पनि दैनिक ४ घण्टा पूर्ण क्षमता (६३ मेगावाट) मा चल्न सक्ने अर्ध-जलाशययुक्त डिजाइन।
-
विद्युतगृह: भूमिगत हुनेछ। आयोजनाको ‘हेड’ ९०० मिटरभन्दा बढी भएकाले ठूला संरचना बनाउनु नपर्ने र निर्माण लागत कम हुनेछ।
-
सुरक्षा तथा भूगोल : जलविद्युत संरचना नदीको सतहभन्दा ४५ मिटर माथि रहने भएकाले बाढीको जोखिम कम छ। ५९ प्रतिशतभन्दा बढी क्याचमेन्ट क्षेत्र ३,००० मिटरभन्दा अग्लो भागमा रहेकाले सुक्खायाममा पनि पानीको बहाव स्थिर रहने दाबी गरिएको छ।
-
प्रसारण लाइन : बिजुली ५५ किलोमिटर टाढा रहेको शीतलपाटी २२० केभी सबस्टेशनमा जोडिनेछ। यसका लागि २२० केभी डबल सर्किट प्रसारण लाइन सोही करिडोरका अन्य आयोजनाहरूसँग मिलेर संयुक्त रूपमा निर्माण गरिनेछ।



