२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बाढी पहिरोका कारण गण्डकीमा ठूलो क्षति : १४ जनाको मृत्यु, सयौँ घरपरिवार विस्थापित

images

  • २०८३ असोज ११, आइतबार
  • 281
    SHARES
  • बाढी पहिरोका कारण गण्डकीमा ठूलो क्षति : १४ जनाको मृत्यु, सयौँ घरपरिवार विस्थापित

    काठमाडौँ : गण्डकी प्रदेशका विभिन्न जिल्लामा अविरल वर्षासँगै आएको बाढी र पहिरोले व्यापक विनाश पुर्‍याएको छ। विपद्का कारण प्रदेशभर कम्तीमा १४ जनाको मृत्यु भएको छ भने केही व्यक्ति बेपत्ता र घाइते भएका छन्। अविरल वर्षाले सडक, बिजुली र सञ्चार सम्पर्क ठप्प पार्दा उद्धार तथा विवरण सङ्कलनमा कठिनाइ भइरहेको छ।

    बागलुङ र म्याग्दीमा मानवीय क्षति

    बागलुङको निसीखोला गाउँपालिका–३ मा आइतबार बिहान एकाबिहानै खसेको पहिरोले घर पुरिँदा एकै परिवारका आमा र तीन सन्तानसहित चार जनाको ज्यान गएको छ। मृत्यु हुनेहरूमा ३९ वर्षीया श्यामकुमारी विक तथा उनका छोराहरू १२ वर्षका मनोज, ९ वर्षका मुकेश र ५ वर्षका निसन रहेका छन्। हजुरबुबा-हजुरआमाको घरमा रहेकी १४ वर्षीया जेठी छोरी भने जोगिन सफल भएकी छन्। यस्तै बागलुङकै तालाखोला गाउँपालिका–१० मा पहिरोमा पुरिएर ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको छ। बागलुङभर सडक, विद्युत् र नेपाल टेलिकमको सेवा अवरुद्ध छ।

    म्याग्दीमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन्। बेनी–३ मा ३५ वर्षीया कुमारी वली विक तथा अन्नपूर्ण गाउँपालिका–५ गिवाङमा ७५ वर्षीया सिउकुमारी गर्बुजा र ५५ वर्षीया दोमाया गर्बुजाको मृत्यु भएको छ। कालीगण्डकी नदीमा आएको ठूलो बाढीले बेनी बजारमा कटान गर्नुका साथै जोमसोमसँगको यातायात सम्पर्क विच्छेद गरिदिएको छ।

    पर्वतमा बस्ती नै बग्यो

    पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदीको बाढीले बस्ती नै बगाएको छ। त्यहाँ ६७ वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने २३ घर उच्च जोखिममा परेका छन्। स्थानीयवासीलाई पूर्वसूचनाका आधारमा सुरक्षित स्थानमा सारिएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ। बाढीले पर्वत र बागलुङ जोड्ने झोलुंगे पुलसमेत बगाएको छ।

    मनाङ र नवलपुरको अवस्था

    हिमाली जिल्ला मनाङमा बाढीका कारण चामेलगायतका क्षेत्रमा १० वटा घर पूर्ण रूपमा क्षति भएका छन् भने कयौँ घर डुबानमा परेका छन्। सडक, पुल र सञ्चार सम्पर्क विच्छेद हुँदा माथिल्लो क्षेत्र र भ्रमणमा रहेका पर्यटकहरूसँग सम्पर्क कायम गर्न समस्या भइरहेको छ।

    पूर्वी नवलपरासीमा नारायणी नदीको सतह बढेपछि गैंडाकोट, मध्यविन्दु र विनय त्रिवेणीका तटीय क्षेत्र डुबानमा परेका छन्। प्रभावित परिवारहरूलाई स्थानीय विद्यालय तथा आफन्तकोमा स्थानान्तरण गरिएको छ।

    समग्र प्रदेशको स्थिति

    गण्डकी प्रदेश प्रहरी कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार बाढी–पहिरोका कारण प्रदेशभर १७९ वटा घर पूर्ण रूपमा नष्ट भएका छन् भने २८ वटामा आंशिक क्षति पुगेको छ। कुल ५१२ परिवारका १,६८४ भन्दा बढी नागरिक विस्थापित भएका छन्। प्राविधिक टोलीहरू अवरुद्ध सडक खोल्न र विद्युत् तथा टेलिकम सेवा पुनः सञ्चालन गर्न खटिएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ