काठमाडौँ : बैंकिङ प्रणालीमा अधिक तरलताको स्थिति कायम रहेपछि नेपाल राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले ३० दिन अवधिको 'निक्षेप संकलन उपकरण' प्रयोग गरी उक्त रकम उठाउन लागेको हो।
वित्तीय बजारमा रहेको निक्षेप व्यवस्थापनका लागि राष्ट्र बैंकले यो कदम चालेको जनाएको छ। राष्ट्र बैंकका अनुसार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल आज (असोज १२ गते) दिउँसो ३:०० बजेसम्म तोकिएको छ।
यस बोलकबोल प्रक्रियामा सहभागी हुन चाहने इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको 'अनलाइन बिडिङ सिस्टम सफ्टवेयर' मार्फत आफ्नो बोलपत्र पेस गर्न सक्नेछन्।
बैंकहरुमा लगानीयोग्य रकम थुप्रिने क्रम नरोकिएपछि ब्याजदरमा आउने तीव्र उतारचढावलाई नियन्त्रण गर्न र वित्तीय स्थायित्व कायम राख्न केन्द्रीय बैंकले नियमित जसो निक्षेप संकलन उपकरणमार्फत तरलता प्रशोचन गर्दै आएको छ।