२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

हिउँदमा विद्युत् संकट टार्न भारतबाट १,१५४ मेगावाट बिजुली ल्याइँदै

images

  • २०८३ असोज १२, सोमबार
  • 236
    SHARES
  • हिउँदमा विद्युत् संकट टार्न भारतबाट १,१५४ मेगावाट बिजुली ल्याइँदै

    काठमाडौँ : आगामी सुक्खायाम (हिउँद) मा हुन सक्ने सम्भावित विद्युत् अभावलाई सम्बोधन गर्न नेपाल विद्युत् प्राधिकरणले भारतबाट १ हजार १ सय ५४ मेगावाट विद्युत् आयात गर्ने तयारी पूरा गरेको छ। बाढीपहिरोका कारण केही प्रमुख जलविद्युत् आयोजनामा पुगेको क्षति र हिउँदमा ह्वात्तै बढ्ने विद्युतीय मागलाई सन्तुलनमा राख्न जनवरीदेखि मे महिनासम्म बिजुली आयात गर्न लागिएको हो।

    प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार सुक्खायाममा नदीहरूमा पानीको बहाव घट्ने भएकाले आन्तरिक उत्पादनबाट करिब १ हजार २१८ मेगावाट मात्र विद्युत् उपलब्ध हुनेछ। जबकि यस वर्षको हिउँदमा देशभित्रको कूल माग २ हजार २ सय ७२ मेगावाट पुग्ने अनुमान गरिएको छ। यही परिपूर्ति हुन नसकेको करिब १,०५४ मेगावाटभन्दा बढीको खाडल पुर्न भारतका विभिन्न बिन्दुबाट बिजुली ल्याउने योजना बनाइएको हो।

    यसरी हुँदैछ विद्युत् आयात:

    • ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय लाइन : ६ सय  मेगावाट

    • बिहारका विभिन्न बिन्दुहरू : ३ सय ५० मेगावाट

    • आरटीसी (RTC) प्रणालीमार्फत : १ सय ५० मेगावाट

    • टनकपुर–महेन्द्रनगर लाइन : ५४ मेगावाट

    काठमाडौँ उपत्यकामा माग १० प्रतिशत बढ्ने अनुमान गत वर्षको हिउँदमा काठमाडौँ उपत्यकामा मात्रै विद्युत्को उच्च माग (पिक डिमान्ड) ७०० मेगावाट पुगेको थियो। यस वर्ष उक्त मागमा थप १० प्रतिशतसम्म वृद्धि हुने प्रक्षेपण प्राधिकरणको छ।

    उपत्यकामा विद्युत् आपूर्ति सहज बनाउन पुराना सबस्टेसनहरूको भार (लोड) नयाँ बनेका सबस्टेसनहरूमा सार्ने काम भइरहेको छ। चोभार, फुटुङ र मूलपानीमा भर्खरै बनेका तथा चार्ज हुने क्रममा रहेका सबस्टेसनमार्फत ओभरलोड भएका फिडर र ट्रान्सफर्मरको भार स्थानान्तरण गरिनेछ। यसको प्राविधिक अध्ययन र व्यवस्थापनका लागि बागमती प्रादेशिक कार्यालय प्रमुखको नेतृत्वमा विशेष कार्यदल (टास्क फोर्स) समेत गठन भई काम सुरु भइसकेको छ।

    साथै, काठमाडौँ उपत्यकामा बिछ्याइएका ११ केभी क्षमताका भूमिगत केबलहरूलाई हिउँद सुरु हुनुअघि नै पूर्ण रूपमा सञ्चालन (चार्ज) मा ल्याउने तयारी छ।

    क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र कुलेखानीको सहारा अघिल्लो बाढीका कारण क्षतिग्रस्त भएको भोटेकोशी र चिलिमे क्षेत्रका २ सय २० केभी प्रसारण लाइन तथा ‘थ्रीबी हब’ सबस्टेसनको पुनर्निर्माण कार्यलाई तीव्र पारिएको छ। बाढीले थ्रीबी हब पूर्ण रूपमा बगाएकाले प्राधिकरणले चिलिमे क्षेत्रमा रहेको आफ्नै जग्गामा नयाँ सबस्टेसन निर्माण गर्ने योजना बनाएको छ।

    यसका साथै, हिउँदको पिक समयमा विद्युत् सन्तुलन कायम राख्न जलाशययुक्त कुलेखानी जलविद्युत् आयोजनालाई रणनीतिक रूपमा प्रयोग गरिने भएको छ। यस वर्ष कुलेखानीको जलाशयमा पर्याप्त पानी सञ्चित रहेकाले संकटका बेला यसबाट सहज रूपमा बिजुली उत्पादन गर्न सकिने प्राधिकरणले जनाएको छ।

    प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले नागरिकलाई केवल विद्युत् उपलब्ध गराउनु मात्र नभई निर्बाध, गुणस्तरीय र भरपर्दो सेवा दिन प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणलाई प्राथमिकतामा राखिएको बताएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ