कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका–१ स्थित चोरखोलामा गुडिरहेको बसमाथि अचानक सडक माथिबाट ढुंगा खस्दा चार जना यात्रु घाइते भएका छन्।
मंगलबार राति करिब १:३० बजे चितवनबाट बर्दियातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख ३७७० नम्बरको यात्रुवाहक बस चोरखोला क्षेत्रमा पुग्दा माथिबाट पहिरोसँगै ढुंगा खसेको थियो। बसमा सवार कुल ३० जना यात्रुमध्ये ढुंगाको धक्काले सिटमा च्यापिएर चार जना घाइते हुन पुगेका थिए।
घटनाको खबर प्राप्त हुनासाथ उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपाल नं. २९ ज्वालामाई गण दाङबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (DSP) बाबुराम थापाको कमान्डमा सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको थियो। प्रहरी टोलीले सिटमा च्यापिएका चारै जनालाई तत्परताका साथ उद्धार गर्न सफल भएको छ।
उद्धार गरिएका घाइतेहरूमा बर्दियाको गेरुवा गाउँपालिका–२ बस्ने ३७ वर्षीय द्ववारीका प्रसाद थारु र ३५ वर्षीय सुरेशलाल थारु, चितवनको भरतपुर महानगरपालिका–११ की २० वर्षीया सलिना सुनार तथा कञ्चनपुरको भीमदत्त नगरपालिका–१० की ४० वर्षीया भगवती कँडेल रहेका छन्।
घाइतेहरूलाई तत्कालै थप उपचारका लागि दाङस्थित भालुवाङ अस्पताल पठाइएको छ। अस्पताल स्रोत र प्रहरीका अनुसार घाइते सबैको अवस्था अहिले सामान्य रहेको छ।