बागलुङ : बागलुङको गलकोट नगरपालिका क्षेत्रमा गत असोज ९, १० र ११ गते आएको अविरल वर्षासँगैको बाढी, पहिरो र भीषण हुरीका कारण ६३ वटा घरमा क्षति पुगेको छ।
नगरपालिकाका अनुसार बाढी पहिरोका कारण एउटा वडा कार्यालय भवनसहित ६३ घरमा असर परेको छ भने अन्य १ सय ३३ घरमा आंशिक क्षति पुगेको छ। यसैगरी सोही अवधिमा चलेको हुरीका कारण थप ३९ घर पूर्ण रूपमा भत्किएका छन् भने ५२ घरमा आंशिक क्षति पुगेको छ।
प्राकृतिक विपत्तिका कारण स्थानीय सिँचाइ पूर्वाधारमा पनि ठूलो नोक्सानी पुगेको छ। नगरपालिकाभित्रका २१ वटा पक्की सिँचाइ संरचनामा गम्भीर क्षति र २४ वटामा सामान्य क्षति भएको छ। त्यसैगरी, किसानहरूले प्रयोग गर्दै आएका २ सय ३ वटा कच्ची सिँचाइका प्रणालीहरूमा पनि बाढी र पहिरोले क्षति पुर्याएको छ।