मुक्तिनाथ : हिमाली जिल्ला मुस्ताङबाट यस वर्ष दसैँ–तिहारलाई लक्षित गरी करिब १३ हजार भेडाच्याङ्ग्रा बजारमा पठाइने भएको छ। गत वर्षको तुलनामा यस वर्ष करिब ५ हजार कम भेडाच्याङ्ग्रा बजारमा जाने अनुमान गरिएको हो।
बाढीपहिरोका कारण सडक सञ्जाल अवरुद्ध हुनु, चाडपर्वको समयमा बजारमा हुने माग प्रभावित हुनु तथा हिमाली क्षेत्रमा भारी वर्षासँगै हिमपात भएपछि गोठबाट भेडाच्याङ्ग्रा बिक्रीका लागि ल्याउन कठिनाइ हुँदा कारोबार घटेको बताइएको छ।
गत वर्ष मुस्ताङबाट करिब १८ हजार भेडाच्याङ्ग्रा बजारमा पुगेका थिए। यस वर्ष हालसम्म १० हजार भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी बिक्रीका लागि पठाइएको कृषि तथा पशु विकास कार्यालय मुस्ताङले जनाएको छ। जिल्लाभित्रका कृषकले करिब ५ हजार भेडाच्याङ्ग्रा बिक्री गरिसकेका छन् भने छिमेकी जिल्ला डोल्पाबाट थप करिब ५ हजार भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै बाहिरिएका छन्।
कार्यालय प्रमुख डा. लालमणि अर्यालका अनुसार प्रतिकूल मौसम र प्राकृतिक विपत्तिका कारण तयार भएका भेडाच्याङ्ग्रालाई समेत गोठबाट बजारसम्म ल्याउन समस्या भएको छ। डोल्पा क्षेत्रमा भएको भारी हिमपातका कारण त्यहाँबाट मुस्ताङ आउने च्याङ्ग्राको संख्या पनि विगतको तुलनामा घटेको उहाँले बताउनुभयो।
“डोल्पा क्षेत्रमा भारी हिमपात भएकाले विगतभन्दा कम च्याङ्ग्रा भित्रिएका छन्। मौसम अनुकूल भए तिहारलाई लक्षित गरेर थप बिक्री हुन सक्छ,” डा. अर्यालले बताउनुभयो।
मुस्ताङका पशुपालक कृषकका लागि पनि यस वर्ष च्याङ्ग्रा बिक्री सहज हुन सकेको छैन। जिल्ला बाहिरबाट खरिद गर्न आउने व्यापारी सडक अवरुद्ध भएका कारण पर्याप्त संख्यामा आउन नसक्दा व्यापार प्रभावित भएको कृषकहरूको भनाइ छ।
उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–१ छोसेरका छिङ्मी गुरुङ विगत १९ वर्षदेखि च्याङ्ग्रा पालनमा सक्रिय हुनुहुन्छ। उहाँका अनुसार च्याङ्ग्रा चरन क्षेत्रमा गोठ बनाएर गोठालाको जिम्मा लगाई पालन गर्ने गरिए पनि यस वर्ष बिक्रीका लागि सदरमुकाम जोमसोमसम्म ल्याउनुपर्ने अवस्था सिर्जना भएको छ। माली क्षेत्रमा च्याङ्ग्रा पालन गर्दा हिउँचितुवा र ब्वाँसोबाट समेत जोगाउनुपर्ने चुनौती रहेको कृषकहरू बताउँछन्। प्राकृतिक रूपमा कठोर हावापानीमा हुर्किने र लेकाली क्षेत्रका विभिन्न वनस्पति तथा जडीबुटी खाने भएकाले मुस्ताङका भेडाच्याङ्ग्राको मासु दसैँ–तिहारजस्ता पर्वमा विशेष माग हुने गरेको छ।
यस वर्ष मुस्ताङबाट करिब ५ हजार, डोल्पाबाट ५ हजार र कोरला नाकाबाट करिब ३ हजार गरी कुल १३ हजार भेडाच्याङ्ग्रा बजारमा जाने अनुमान गरिएको छ। गत वर्ष भेडाच्याङ्ग्रा बिक्रीबाट कृषकले करिब ३६ करोड रुपैयाँ आम्दानी गरेका थिए।