२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पर्यटन बोर्डको बजेट १ अर्ब ७० करोड, प्रवर्धनमा ६६ प्रतिशत रकम विनियोजन

images

  • २०८३ असोज २२, बिहीबार
  • 386
    SHARES
  • पर्यटन बोर्डको बजेट १ अर्ब ७० करोड, प्रवर्धनमा ६६ प्रतिशत रकम विनियोजन

    काठमाडौं : नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। पर्यटन प्रवर्धन र अन्तर्राष्ट्रिय बजार विस्तारलाई मुख्य प्राथमिकतामा राख्दै बोर्डले नयाँ बजेट ल्याएको हो।

    बोर्डको चालु आर्थिक वर्षको बजेट गत आर्थिक वर्ष २०८२/८३ को तुलनामा २० करोड रुपैयाँले बढी हो। गत आर्थिक वर्षमा बोर्डले १ अर्ब ६० करोड रुपैयाँको बजेट ल्याएको थियो।

    तर, गत आर्थिक वर्षमा विनियोजित बजेटको अपेक्षाअनुसार खर्च हुन सकेन। बोर्डका अनुसार २०८२/८३ मा करिब ८९ करोड ४७ लाख रुपैयाँ खर्च भएको अनुमान छ, जुन कुल बजेटको करिब ५६ प्रतिशत हो।

    चालु आर्थिक वर्षको बजेटमा पर्यटन प्रवर्धन तथा विभिन्न कार्यक्रमका लागि ठूलो हिस्सा छुट्याइएको छ। बोर्डले कुल बजेटको ६६ प्रतिशत अर्थात् करिब १ अर्ब १२ करोड रुपैयाँ प्रवर्धन तथा कार्यक्रम सञ्चालनमा खर्च गर्ने योजना बनाएको छ।

    नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक तथा सूचना अधिकारी सन्तोष पन्तका अनुसार गत वर्ष अन्तर्राष्ट्रिय पर्यटन प्रवर्धनका लागि छुट्याइएको रकम लक्ष्यअनुसार खर्च हुन सकेको थिएन। विदेशमा गरिने खरिदसम्बन्धी कार्यविधि स्वीकृत हुन ढिलाइ हुँदा ‘सेल्स मिसन’ लगायतका कार्यक्रम प्रभावित भएको उनको भनाइ छ।

    उनका अनुसार बोर्डले तयार पारेको विदेशमा गरिने खरिदसम्बन्धी कार्यविधि चैतमा मात्रै स्वीकृत भएको थियो। त्यसमाथि वैशाखको तेस्रो सातादेखि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद रिक्त रहँदा पनि कार्यक्रम सञ्चालनमा असर परेको थियो।

    पर्यटन प्रवर्धन बोर्डको मुख्य जिम्मेवारी भएकाले अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्धनलाई हरेक वर्ष बजेटमा उच्च प्राथमिकता दिइँदै आएको छ। यस वर्ष पनि बजेटको ठूलो हिस्सा विदेशी पर्यटक आकर्षित गर्ने कार्यक्रम, प्रचारप्रसार तथा बजारीकरणमा केन्द्रित गरिएको छ।

    पन्तका अनुसार बोर्ड सञ्चालक समितिमा सदस्य नियुक्त भएपछि मात्रै चालु आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अघि बढाउनुपरेकाले बजेट सार्वजनिक गर्न केही ढिलाइ भएको हो। यद्यपि, विदेशमा गरिने खरिदसम्बन्धी कार्यविधि अघिल्लो आर्थिक वर्षमै स्वीकृत भइसकेकाले चालु वर्षमा कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन सहज हुने बोर्डको अपेक्षा छ।

    पर्यटन सेवा शुल्कबाट १ अर्ब १७ करोड आम्दानीको लक्ष्य

    बोर्डले चालु आर्थिक वर्षमा आम्दानीको सबैभन्दा ठूलो स्रोतका रूपमा पर्यटन सेवा शुल्कलाई राखेको छ। यो शीर्षकबाट १ अर्ब १७ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य बोर्डले लिएको छ।

    नेपाल भ्रमण गरेर फर्किने विदेशी नागरिकबाट भ्याटबाहेक प्रतिव्यक्ति १ हजार रुपैयाँ पर्यटन सेवा शुल्क लिइन्छ। पर्यटन प्रवर्धन तथा बजारीकरणका लागि संकलन हुने यही शुल्क बोर्डको प्रमुख आम्दानी स्रोत हो। यसबाट मात्रै बोर्डले कुल बजेटको करिब ६९ प्रतिशत बराबरको स्रोत जुटाउने अनुमान गरेको छ।

    त्यस्तै, पदयात्री पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड बिक्रीबाट ४ करोड ६६ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको छ। नेपालमा पदयात्राका लागि आउने विदेशी पर्यटकले टिम्स कार्ड लिनुपर्ने व्यवस्था छ र यसको व्यवस्थापन तथा बिक्रीको जिम्मेवारी पर्यटन बोर्डसँग रहेको छ।

    यसका अतिरिक्त सहभागिता योगदान, हलभाडा, बैंक तथा अन्य लगानीबाट प्राप्त हुने ब्याजलगायतका शीर्षकबाट पनि बोर्डले आम्दानी गर्ने जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ