पोखरा : कास्कीको पोखरा महानगरपालिका–२८, माझठानास्थित ओख्लेको भीरमा शुक्रबार बिहान स्कुल बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
प्राप्त विवरणअनुसार कालिका बोर्डिङ स्कुलको बस ट्युसन पढेर फर्किंदै गरेका विद्यार्थी लिएर आउँदै गर्दा दुर्घटनामा परेको हो। ग २ ख १४१७ नम्बरको उक्त बस सडकबाट करिब पाँच सय मिटर तल भीरमा खसेको बताइएको छ। दुर्घटनापछि घटनास्थलमा उद्धार कार्य गरी घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले दुर्घटनामा परेका घाइतेहरूको उद्धार गरी अस्पताल पुर्याइएको जानकारी दिएका छन्। दुर्घटनाको कारणबारे थप विवरण प्राप्त हुन बाँकी छ।