मङ्सिर ४, काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाण्डौले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ। आज सोमबार काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ३० दिनसम्मका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र तोक्नुभएको हो।
यही मङ्सिर ७ गते माइतीघरमा एमाले निकट युवा सङ्घ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छुट्टाछुट्टै प्रदर्शन गर्न लागेका थिए। एकै दिन दुई पक्षको प्रदर्शन हुँदा शान्ति सुरक्षामा समस्या आउने भन्दै प्रशासनले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम आदेश जारी गरेको हो।
पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलदेखि बबरमहल, बिजुली बजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकिएको प्रशासनको विज्ञप्तिमा उल्लेख छ। यो क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेशमा उल्लेख छ।




