मङ्सिर ६, काठमाडौं : जिल्ला प्रशासन कार्यालयले माइती घरपछि राष्ट्रपति निवास शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि निषेधाज्ञा जारी गरेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारीले राष्ट्रपति कार्यालयको पूर्व पवित्र वर्कशपसम्म, पश्चिम सामाखुसी निस्कने नाला, उत्तर प्रहरी प्रशिक्षण प्रतिष्ठानको पूर्वी गेट र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म निषेधको आदेश जारी गरेको हो।
यस्तै, बालुवाटारमा पवित्र वर्कशप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोक र सभामुखदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटरसम्म ५ जनाभन्दा बढी भेला हुने नदिने आदेश जारी भएको हो।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) अनुसार, तोकिएको निषेधित क्षेत्रमा ३० दिनसम्म ५ जना भन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउन, अनशन सभा लगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन।
काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले निकालेको सूचनामा राष्ट्रपति भवन शीतलनिवास, प्रधानमन्त्रीनिवास, उपराष्ट्रपति भवन हरित गृह, बानेश्वरमा रहेको संसद् भवन र सिंहदरबार क्षेत्र हिजोदेखि ३० दिनका लागि निषेधित क्षेत्र तोकिएको उल्लेख छ।
७ मंसिरमा युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको समूहले आयोजना गरेको छुट्टाछुट्टै शक्ति प्रदर्शनको कार्यक्रमको पूर्वसन्ध्यामा प्रशासनले यो निर्णय गरेको हो। यसअघि स्थानीय प्रशासनले माइतीघर–बानेश्वर र ललितपुरको पुलचोक क्षेत्रमा निषेधको आदेश जारी गरिसकेको छ।




