काठमाडौं : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा सरकार कुनै पनि दबाबमा पछि नहट्ने दाबी गर्नु भएको छ । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो दाबी गर्नु भएको हो ।
उहाँले यो प्रकरणमा नेपाल प्रहरीलाई कसैको पनि दबाबमा नपरीकन काम गर्न निर्देशन दिइएको भन्दै अहिले प्रहरीले निष्पक्ष रुपमा काम गरिरहेको बताउनु भयो । भ्रष्टाचारका अन्य प्रकरणहरुको पनि अनुसन्धान हुने उहाँको भनाई छ ।
अनुसन्धानको आधारमा विभिन्न व्यक्तिहरुलाई नियन्त्रणमा लिने र अनुसन्धानले पुष्टि गरेपछि कानुनी दायरामा ल्याउने सरकारको काम भएको गृहमन्त्री श्रेष्ठले बताउनु भयो ।
नेपाली नागरिकलाई अनागरिक बनाएर भुटानाी शरणार्थीको रुपमा विदेश पठाउने त्यसरी विदेश पठाउने प्रक्रियालाई अघि बढाएर सम्पत्ति आर्जन गर्ने काम भएको कुरामा अहिले सरकार, गृह मन्त्रालय र प्रहरीले अनुसन्धानको प्रक्रिया अघि बढाएको उहाँले बताउनु भयो ।



