मङ्सिर ७, काठमाडौं : बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंकमा ग्लोबल आइएमई बैंक लिमिटेड बनेको छ। बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो।
आन्तरिक राजस्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्था अन्तर्गत सर्वाधिक कर तिर्ने ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको थियो।
कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा.प्रकाश शरण महतले ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाललाई सर्वाधिक कर दाखिला गरेको कदर स्वरुप सम्मान पत्र प्रदान गरेका छन्। ग्लोबल आइएमई बैंक विभिन्न सूचकहरुमा नेपालको सबैभन्दा ठुलो बैंकको रुपमा स्थापित छ।
सन् २००७ मा वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोबार सुरुवात गरेको ग्लोबल आइएमई बैंकले आफ्नो बैंकिङ्ग यात्रामा विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ती गरी सबल र उत्तरदायी बैंकको रुपमा स्थापित भएको छ।
आफ्नो व्यवसायको गुणात्मक वृद्धिका लागि लक्ष्य २०२५ अनुशरण गर्दै कार्यसम्पादन गर्दै आईरहेको ग्लोबल आइएमई बैंकले प्रविधिमैत्री बैंकिङ्ग सेवा तथा सुविधाको पहुच विस्तार गरी सन् २०२५ सम्म आफ्नो व्यवसाय दोब्बर बनाउने लक्ष्य लिएको छ।
हाल बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ रहेको छ। ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।
बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ।
विभिन्न क्षेत्रका १६ करदाता सम्मानित
आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने नेपाल दूरसञ्चार कम्पनी पुरस्कृत भएको छ। निर्यात कारोबार क्षेत्रमा डाबर नेपाल, विशेष उद्योगमा एसियन पेन्ट्स, कृषि तथा पशुजन्य उद्योगमा ओबिसी फुड्स एण्ड फ्रिड कम्पनी, सहकारी तथा लघुवित्तमा छिमेक लघुवित्त वित्तीय संस्था र बैंक तथा वित्तीय क्षेत्रतर्फ ग्लोबल आइएमई बैंक सम्मानित भएका छन्।
यस्तै, बीमा व्यवसायतर्फ लाइफ इन्स्योरेन्स कम्पनी नेपाल, स्वास्थ्य शिक्षा प्रदायक संस्थातर्फ नोबेल मेडिकल कलेज, पर्यटन व्यवसायतर्फ मनकामना दर्शन प्रा लि, वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट, रु ५० करोडदेखि १ अर्ब कर तिर्ने मध्यमस्तरीय करदातातर्फ नेपाल स्टक एक्स्चेन्ज र ऊर्जा मुलुक उद्योगतर्फ भोटेकोसी जलविद्युत् कम्पनी सम्मानित भएका छन्।



