मङ्सिर १०, काठमाडौं : आज मंसिर १० गतेदेखि नेपाल वेयरहाउजिङ्ग कम्पनीले आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले सर्वसाधारणलाई ११ लाख ४१ हजार २५० कित्ता शेयर निष्काशन गरेको हो।
कम्पनीले जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १३ लाख ७५ हजार कित्ता सेयर बिक्री गरेको हो। जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् १ लाख ३७ हजार ५ सय कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँड सकेको छ।
यस्तै, दोस्रो चरणमा २ प्रतिशत अर्थात् २७ हजार ५ सय कित्ता सेयरमा कर्मचारी, ५ प्रतिशत अर्थात् ६८ हजार ७५० कित्ता शेयरमा सामूहिक लगानी कोष र ११ लाख ४१ हजार २५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिनसक्ने छन्।
कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिनसक्ने छन्। लगानीकर्ताहरुले कम्पनीको आईपीओमा छिटोमा मंसिर १३ गते र ढिलोमा मंसिर २४ गतेसम्म आवेदन दिन सक्ने छन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्गले कम्पनीलाई आईआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।



