मङ्सिर १०, काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुवै बैंकले सोमबार अर्थात मंसिर ११ गते बुकक्लोज गर्ने भएको हो। आज सम्म कायम शेयरधनीहरुले मात्र यी दुवै बैंकको लाभांश प्राप्त गर्न तथा यी बैंकहरुको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ५ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६५ नगद लाभांश वितरण गर्दैछ। बैंकले उक्त लाभांश प्रस्ताव पारित गर्न मंसिर २४ गते वार्षिक साधारण सभा डाकेको छ। सभा, लैनचौर ब्यांकेट, लैनचौर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।
यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुलाई मर्ज अथवा एक्वायर गर्ने सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
यस्तै, शाइन रेसुंगा डेभलपमेन्ट बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई १०.५० बोनस सेयर र कर तिर्न ०.५५ नगद लाभांश वितरण गर्दैछ। शाइनले लाभांश प्रस्ताव सहित मंसिर २३ गते वार्षिक साधारण सभा बोलाएको छ। सभा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एन्ड प्रा. लि मणिग्राम, रुपन्देहीमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित चुक्ता पुँजीको १०।५० प्रतिशत बोनस सेयर (४४ करोड ९८ लाख ७ हजार ७३७ रुपैयाँ) र सोको कर प्रयोजनार्थ ०.५५ प्रतिशत ९२ करोड ३६ लाख ७४ हजार ९१ रुपैयाँ० नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।



