काठमाडौं : प्रख्यात कीर्तिमानी हिमाल आरोही कामिरिता शेर्पा २७औँ पटक सगरमाथाको शिखरमा पुग्नु भएको छ । आफ्नै विश्व रेकर्ड तोडेदै शेर्पाले आज विहान ८ बजेर ३० मिनेटमा २७औँ पटक सगरमाथाको शिखरमा पुगेको सेभेन समिट ट्रेक्सले जनाएको छ ।
कामिरिता शेर्पाले २७औं पटक सगरमाथा आरोहण गरी नयाँ विश्व रेकर्ड बनाउनु भएको हो । सोलुखुम्बुका शेर्पाले अघिल्लो वर्ष २६औं पटक हिमाल आरोहण गरी विश्व कीर्तिमान राख्नु भएको थियो ।
सोलुखुम्बुको थामेमा सन् १९७० मा जन्मेका कामी रिताको नाममा सन् २०१८ देखि सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम छ । उहाँले मे १६ –२०१८ मा २२ औं पटक सगरमाथा आरोहण गर्दै आप्पा शेर्पाको कीर्तिमान तोडेका थिए ।
शेर्पा सेभेन समिट ट्रेकका सिनियर गाइड हुन् । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका शेर्पाको ८ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ । कामीरितापछि विश्वमै सर्वाधिक सगरमाथा आरोहण गर्ने दोस्रो स्थानमा उहाँकै जिल्लावासी पासाङ दावा शेर्पा हुनुहुन्छ । पासाङ दावाले पनि २६ पटक सगरमाथाको चुचुरोमा पुगिसक्नु भएको छ ।



