मङ्सिर १६, काठमाडौं :काठमाडौं महानगरपालिकाले करारमा काम गर्न २३० कर्मचारी मागेको छ। काठमाण्डौ महानगरपालिकाले गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन गर्ने भएको छ।
यसका लागि महानगरले सुपरीवेक्षक तथा गणक करारमा लिने भएको छ। महानगरले आज सूचना निकालेर २१ जना सुपरीवेक्षक तथा २०९ जना गणक माग गरेको छ।
नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त आर्थिक वर्ष २०८०/८१ का लागि स्वीकृत बजेट तथा कार्यक्रम अनुसार काठमाण्डौ महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमका लागि ट्याब्लेटमार्फत तथ्याङ्क सङ्कलन तथा सुपरीवेक्षण गर्ने महानगरले जनाएको छ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले २१ दिनभित्र अनलाइन आवेदन दिन सक्नेछन्। महानगरले इच्छुक र योग्यता पुगेका व्यक्तिहरूलाई पुस ६ गतेसम्म दरखास्त दिइसक्न भनेको छ। दरखास्त महानगरको वेभ साइटबाट दिन सकिने र शुल्क नलाग्ने महानगरले जनाएको छ।
सुपरीवेक्षकको पारिश्रमिक मासिक ३४ हजार ७३० रूपैयाँ र इन्टरनेट खर्च २ हजार तोकिएको छ। गणकलाई मासिक ३२ हजार ९०२ रूपैयाँ पारिश्रमिक र २ हजार रूपैयाँ इन्टरनेट खर्च तोकेको छ।
काठमाडौं महानगरपालिकाका बासिन्दा, यसअघि जनगणना वा सर्वेक्षणमा काम गरेको र महानगरपलिकाबाट विगतमा पनि सोही कार्यक्रममा छनोट भएकाहरूलाई विशेष प्राथमिकता दिइने सूचनामा उल्लेख छ।




