२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

खोर अभाव भएपछि बर्दिया पठाइयो चितवनको बाघ

images

  • २०८० मंसिर १९, मंगलबार
  • 1.0K
    SHARES
  • खोर अभाव भएपछि बर्दिया पठाइयो चितवनको बाघ

    मङ्सिर १९, चितवन :  चितवन राष्ट्रिय निकुञ्जमा खोर अभाव भएपछि एउटा बाघ बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ। हिंस्रक बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिएको पनि ठाउँ नभएपछि बर्दिया पठाइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो।

    अन्दाजी ४ वर्षको भाले बाघ बर्दिया पठाइएको हो। खैरहनी नगरपालिका– १२ को कुमरोज बस्तीमा मान्छे खाएपछि बाघलाई गत साउनमा नियन्त्रणमा लिइएको थियो। कसराको खोरमा ४ वटा र सौराहामा २ वटा हिंस्रक बाघ छन्।

    केही दिनअघि मकवानपुरको मनहरिमा मान्छेलाई आक्रमण गरेको अन्दाजी १० वर्षको पोथी बाघ सौराहामा राखिएको छ। यस्तै सौराहामै गतवर्ष मेघौलीमा मानिसलाई आक्रमण गरेको अन्दाजी १० वर्षको भाले बाघ पनि छ। तिवारीका अनुसार निकुञ्जको मुख्य कार्यालय कसरामा गत भदौमा अमलटारीबाट ल्याइएको अन्दाजी २ वर्षको भाले बाघ छ।

    यसैगरी बाँकेबाट दुईवर्ष अघि ल्याइएको अन्दाजी नौ वर्षको भाले बाघ त्यही खोरमा राखिएको छ। माडीको वनकट्टाबाट ल्याइएको अन्दाजी १३ वर्षको पोथी बाघ र ३ वर्षअघि देवनगरको बेलसहर सामुदायिक वनबाट नियन्त्रणमा लिइ ल्याइको अन्दाजी १२ वर्षको भाले बाघ कसरामा रहेका छन्। थप बाघ नियन्त्रणमा लिनु पर्दा तत्कालै राख्ने ठाउँ छैन। 

    निकुञ्जले पश्चिम चितवनको देवनगरमा वन्यजन्तु उद्धार केन्द्र बनाउँदै छ। सोही ठाउँमा बाघ राख्नका लागि दुईवटा खोर बनाइँदै छ। देवनगरका खोरमा राखिएका बाघलाई पर्यटकलाई देखाउने गरी व्यवस्थापन गरिँदै छ।

    हिंस्रक बाघ बढ्दै गएपछि व्यवस्थापनमा समस्या भएको छ। एउटा बाघलाई एक दिन बिराएर पाँच किलो राँगाको मासु खुवाउने गरिएको छ। ठाउँ, जनशक्ति र आहाराका कारण बाघको व्यवस्थापन कठिन बनेको हो । 

    सन् २०२२ को गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२८ र देशभर ३५५ वटा बाघ छन्। निकुञ्जले यस आर्थिक वर्षमा २ वटा हिंस्रक बाघलाई स्थानान्तरण गरेको छ। यसअघि एउटा बाघलाई पर्सा राष्ट्रिय निकुञ्जमा पठाएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ