काठमाडौँ : पशुपतिनाथ मन्दिर परिसर र आसपासका विभिन्न क्षेत्रमा आजदेखि एक साता मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ।
बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व)लाई मध्यनजर गर्दै काठमाडौं प्रशासनले पशुपतिनाथको चार किल्ला तोकेर आजदेखि मंसिर २७ गतेसम्म मासु, मदिरा र नसालु पदार्थ निषेध गरेको हो। यो नियम गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिणभित्रका सबै भागमा लागु हुनेछ।
बालाचतुर्दशी पर्वमा सुरक्षा लगायत धार्मिक, साँस्कृतिक, मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले ती पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन समेत गर्न नपाउने सूचनामा उल्लेख छ। कोही कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले चेतावनी दिएको छ।



