सुन्दरबजार : लमजुङको सुन्दरबजार नगरपालिका–८ जोडकुलामा सामूहिक भोज खाएका ३० देखि ३५ जना मध्य एक जनाको मृत्यु भएको छ भने ३० जना अस्पताल भर्ना भएका छन्।
मृत्यु हुनेमा बेसीशहर नगरपालिका ८ पुरानोकोट घर भई भोटेओडार बस्दै आएकी ३२ वर्षिय देवी परियार रहेकी छिन्। अस्पताल भर्ना हुनेमा १५ महिला, ४ पुरुष, ८ बालक र ३ बालिका रहेका छन्।
सुन्दरबजार नगरपालिका–८ स्थित क्षेत्र बहादुर गुरुङको घरमा शुक्रबार बेलुका क्रिसमसको उपलक्ष्यमा सामूहिक भोज आयोजना गरिएको बताइएको छ। शुक्रबार वनभोज खाएपछि उनीहरूलाई शनिबारदेखि समस्या देखिन थालेको थियो।
घरमै साधारण उपचार गर्दा समस्या देखिएपछि उनीहरू शनिबार बेलुका अस्पताल पुगेका थिए। अस्पताल आएका बिरामीहरूमा ज्वरो र झाडापखलाको समस्या देखिएको छ। भोजमा सहभागीहरू आइतबार बिहानसम्म पनि अस्पताल आइरहेको बताइएको छ। भोजमा सहभागीहरुले भात, कालो दाल, कुखुराको मासु र मुलाको अचार खाएको सहभागीहरुले जानकारी दिएका छन्।



