काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्स र कुहिरो लागेको छ।
दिउँसो आंशिकदेखि सामान्य बदली भई पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुनेछ। यस्तै, उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुनेछ भने उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने महाशाखाको भनाइ छ।
भोलि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपात समेत हुनेछ।
महाशाखाले देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।तराईका केही स्थानमा बिहानीपख लाग्ने हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा सामान्य असर पर्नसक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।



