ढोरपाटन : बागलुङका गलकोट नगर अस्पताललाई विद्युतीय शवगृह उपलब्ध गराइएको छ। गलकोट नगरपालिका–६ नेपानेका झप्परबहादुर बस्नेतले बुबा वीरबहादुर र आमा मनकुमारीको स्मृतिमा विद्युतीय शवगृह सहयोग गर्नुभएको हो। बस्नेत परिवारले रु ८ लाख बढीको विद्युतीय शवगृह नगर अस्पताललाई सहयोग गरेको हो।
गलकोट नगर अस्पतालका प्रमुख डा राजेश पौडेलले यसअघि विद्युतीय शवगृह नहुँदा अस्पतालको कामकाजमा बाधा पुग्ने गरेको बताउनुभयो। “विद्युतीय शवगृह नहुँदा सडेको शव परीक्षण गर्नुपरिरहेको थियो”, उहाँले भन्नुभयो।
पश्चिम बागलुङमै विद्युतीय शवगृह थिएन। यस्तो अवस्थामा शव धेरै दिनसम्म राख्न राख्न मुश्किल हुने गरेको थियो। डा. पौडेलका अनुसार अहिले प्राप्त भएको विद्युतीय शवगृहमा दुईवटा शव राख्न सकिन्छ। “यसअघि शवलाई सुरक्षितरुपमा राख्न बाग्लुङ पुग्नुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो।
विद्युतीय शवगृह सहयोगकर्ता बस्नेतले अस्पताललाई चाहिने अन्य सामग्री पनि निरन्तर सहयोग गर्दै जाने बताउनुभयो। पश्चिम बागलुङका ६ पालिकाका स्वास्थ्य संस्थामा एउटा पनि विद्युतीय शवगृह छैन। सदरमुकामस्थित धौलागिरि अस्पतालमा शव राख्नुपर्ने बाध्यता थियो। यो खर्चिलो थियो।



