काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका १६ जना आरोपितको जिल्ला अदालत काठमाडौंमा आजदेखि बयान शुरु हुने भएको छ। यो प्रकरणमा मुछिएका ३० जनाविरुद्ध बुधबार ठगी, किर्ते लगायतको अभियोगमा मुद्दा दायर भएको थियो।
१४ जना फरार रहेकाले आज १६ जनाको मात्र बयान सुरु हुन लागेको हो । फरार रहेका १४ जनाको हकमा भने अदालतमा उपस्थित भएकै बेला बयान हुनेछ।
शुक्रबार आरोपित विरुद्धको मुद्दाको पेशी तोकिनेछ र सम्बन्धित न्यायाधीशको इजलासमा बयान हुनेछ। इजलासले उनीहरुको एकैसाथ वा छुट्टाछुट्टै रुपमा समेत बयान गराउन आदेश दिन सक्नेछ। सबैको बयान गराउनुपर्ने भएकाले आज बहस शुरु हुने सम्भावना छैन।
इजलासले एकैसाथ बयान गराउने भनी आदेश नदिएमा बयानकै लागि थप केही दिन लाग्ने निश्चित छ। बयानपछि उनीहरुलाई थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भनी ‘थुनछेक’ बहस हुनेछ।
इजलासले त्यसपछि उनीहरुलाई तीनमध्ये कुनै एउटा आदेश दिनेछ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउन खोजेको अभियोगमा पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे लगायत विरुद्ध जिल्ला अदालतमा मुद्दा चलाएको थियो।



